बेलायतको फानब्रोमा डलर एकाउन्टबारे ग्लोबल आइएमई बैंकको अन्तरक्रिया

शिब भण्डारी

लन्डन । गैरअवासीय नेपालीहरुको लागि नेपाल सरकारले व्यवस्था गरेको डलर एकाउन्टको सुविधाका विषयमा अन्तरक्रिया गरिएको छ ।

ग्लोबल आईएमई बैकंको आयोजनामा बेलायतको फानब्रो स्थित भिलेज होटलमा बुधबार सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व र व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालै मात्रै व्यवस्था गरिएको डलर एकाउन्ट विदेशमा बस्ने नेपालीहरुको हितमा रहेको बताए ।

गैरआवासीय नेपालीले डलर खाता खोल्न पाउने सुविधालाई आफ्नो बैंकले तीव्रताका साथ कार्यन्वयनमा ल्याएको जानकारी दिंदै उनले नेपालमा शेयर, उद्योग, जलबिद्युत, केबलकार लगायतका क्षेत्रमा लगानीको ढोका खोलिसकेको बताए ।
नेपालका सातै प्रदेशमा केबलकार सञ्चालन गर्ने आफ्नो योजना सुनाउँदै ढकालले यी प्रोजेक्टमा लगानीसहित आबद्ध हुन गैरआवासीय नेपालीलाई आव्हान समेत गरे ।

बैंकका सिइओ रत्न बज्राचार्यले नेपालमा लगानी सम्भाव्यताबारे प्रकाश पार्दै ग्लोबल आइएमई बैंकमार्फत सुरक्षित र नाफामूलक लगानीमा भागिदार बन्न आमन्त्रण गरे । बैंकले यसअघि नै बेलायतको अल्डरसटमा शाखा कार्यालय खोलेर सेवा शुरु गरेको शाखाका प्रतिनिधि अमित चालिसेले जानकारी गराएका थिए ।

कार्यक्रममा बेलायत स्थित नेपाली दुतावासकी उपनियोग प्रमुख रोशन खनालले कार्यक्रम निकै महत्वपूणर् र जानकारी मूलक रहेको बताईन् ।उनले नेपालमा लगानी बढाउन सम्पूर्णलाई आग्रह गरिन् ।

बेलायतस्थित आइएमई लन्डनका प्रमुख एवं समाजसेवी कमल पौडेल,शाखाका प्रतिनिधि अमित चालिसेले पनि बैंकले दिने सुविधाबारे जानकारी गराएका थिए ।

बरिष्ठ च्यार्टड एकाउन्टेड समीर प्याखुरेलले सञ्चालन रहेको कार्यक्रममा बेलायत स्थित नेपाली दुतावासकी उपनियोग प्रमुख रोशन खनाल,लेफिटनेन्ट कर्णेल टोल खाम्चा मगर,विराज भट्ट,शिवजी श्रेष्ठ,लक्ष्य गुरुङ,लगायतले बोलेका थिए ।

औपचारिक कार्यक्रम पश्चात सुरु भएको अन्तरक्रिया कार्यक्रममा कार्यक्रममा सहभागीबाट राखिएका प्रश्नहरुको बैंकका पदाधिकारीहरुले जवाफ दिएका थिए।

के हो डलर एकाउन्ट ?

सीधै विदेशी मुद्रा जम्मा गर्नका लागि बैंकका खोलिने खाता नै विदेशी मुद्रा खाता वा डलर खाता हो । नेपालका बैंकहरुले डलर, युरो लगायतका मुद्रा बचत गर्न एवम् कारोबार गर्न मिल्ने विदेशी मुद्रा बचत खाता संचालनमा ल्याएका छन् ।

अन्य समान्य बचत खाता खोलेजस्तै बैंक शाखामा गएर विदेशी मुद्रा बचत खाता खोल्न सकिन्छ । बैंकमा विदेशी मुद्रा खाता खोल्ने नेपालीले एक वर्षमा १५ हजार अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था छ । प्रत्येक नेपालीले विदेश जानका लागि भिसा लागेको पासपोर्टको आधारमा २५ सय अमेरिकी डलर खर्च गर्ने सुविधा पाउँछन् ।

धेरै विदेश यात्रा गरिरहनेहरुका लागि यस्तो खाता महत्वपूणर् हुन्छ । बैंकमा गएर पैसा साट्नुपर्ने झन्झट हुँदैन भने खल्तीमा धेरै नगद बोकेर हिँड्नुपर्ने अवस्था पनि रहँदैन । त्यस्तै, नेपालीले विदेशी मुद्रामा कमाएको आय विदेशी मुद्रामै बचत गर्दा विदेशी विनिमय संचिति बढ्न गई मुलुकको आयात धान्ने क्षमता बढ्छ ।