बेलायतको लेष्टरमा डलर एकाउन्ट बारे ग्लोबल आइएमई बैंकको अन्तरक्रिया

लन्डन।सिर्जनशिल लेष्टर नेपालको संयोजनमा गैरअवासीय नेपालीहरुको लागि नेपाल सरकारले व्यवस्था गरेको डलर एकाउन्टको सुविधाका विषयमा मिडल्यान्डमा एक अन्तरक्रिया गरिएको छ।

सोमबार ग्लोबल आइएमई बैंकले लेष्टरमा सञ्चालन गरेको अन्तरक्रियामा मिडल्यान्डभरका संघसंस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व र व्यवसायीहरुको सहभागिता रह्यो।

सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुयालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालै मात्रै व्यवस्था गरिएको डलर एकाउन्ट विदेशमा बस्ने नेपालीहरुको हितमा रहेको बताए।

गैरआवासीय नेपालीले डलर खाता खोल्न पाउने सुविधालाई आफ्नो बैंकले तीव्रताका साथ कार्यन्वयनमा ल्याएको जानकारी दिंदै उनले नेपालमा शेयर, उद्योग, जलबिद्युत, केबलकार लगायतका क्षेत्रमा लगानीको ढोका खोलिसकेको बताए।

नेपालका सातै प्रदेशमा केबलकार सञ्चालन गर्ने आफ्नो योजना सुनाउँदै ढकालले यी प्रोजेक्टमा लगानीसहित आबद्ध हुन गैरआवासीय नेपालीलाई आव्हान गरे।

बैंकका सिइओ रत्न बज्राचार्यले नेपालमा लगानी सम्भाव्यताबारे प्रकाश पार्दै ग्लोबल आइएमई बैंकमार्फत सुरक्षित र नाफामूलक लगानीमा भागिदार बन्न आमन्त्रण गरे।

बैंकले यसअघि नै बेलायतको अल्डरसटमा शाखा कार्यालय खोलेर सेवा शुरु गरेको शाखाका प्रतिनिधि अमित चालिसेले बताए। बेलायतस्थित ग्लोबल आइएमई बैंक प्रमोटर एवं समाजसेवी कमल पौडेलले पनि बैंकले दिने सुविधाबारे जानकारी गराएका थिए।

त्यस अवसरमा कार्यक्रम संयोजन टिममा रहेका सिर्जनशिल लेष्टर नेपालका पूर्व अध्यक्ष एवम् एनआरएन युरोप उपसंयोजक दयानिधि सापकोटाले स्वागत मन्तव्य दिएका थिए भने सामाजिक अभियन्ता एवं नटिङहम नेपाली समाजका संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्री, एनआरएनए आइसीसी सदस्य एवम् साझा नेपाली समाजका निवर्तमान अध्यक्ष महेश अधिकारीले पनि आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रमका सभापति एवम् सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुयालले विदेशमा बस्ने नेपालीहरुको लागि निकै उपयोगी जानकारी दिने अन्तरक्रियाका लागि ग्लोबल आइएमई बैंकले मिडल्यान्डको लेष्टरलाई छनोट गरेकोमा आभार प्रकट गरे।

कार्यक्रममा सहभागीबाट राखिएका प्रश्नहरुको बैंकका पदाधिकारीहरुले जवाफ दिएका थिए। कार्यक्रम सञ्चालन समाजका महासचिव पुन्डरी अर्यालले गरेका थिए।

औपचारिक कार्यक्रम समापनपश्चात हेरिटेज इण्डियाले उपलब्ध गराएको स्वादिष्ट नेपाली खानाका साथमा सांस्कृतिक कार्यक्रमबाट मनोरञ्जन गरिएको थियो। कलाकारद्धय अस्मिता डल्लाकोटी र विशाल रायमाझीले धमाकेदार प्रस्तुति दिएर सबैलाई नचाएका थिए।