भक्तपुर । चाँगुनारायण नगरपालिका-६ कार्यालयले सोमबार बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ ।
वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यङ्ग्य गरे ।
विगत आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती दिने निर्माण व्यवसायी शारदा अधिकारीसँगको ठेक्का रद्द गरेर सडक निर्माण छिटो सम्पन्न गर्न माग गर्दै वडाध्यक्ष लामाले सडकबाटै वडाको सेवा दिएको बताए ।
आफ्नो साङ्केतिक विरोधले सरकारलाई सडक निर्माण छिटो सम्पन्न गर्न झकझकाओस् र नौ वर्षसम्म सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेर विकल्प खोजोस् भनेर सडकमै सेवा दिएको उनको भनाइ थियो ।
सरकारले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते भक्तपुर नगरकोट सडक निर्माण गर्न शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । अहिले आठ वर्ष पूरा भएर नौ वर्ष लागिसक्दा पनि सडक निर्माण सम्पन्न गर्न सकेको छैन ।
जनताले पटकपटक विरोध गर्दा पनि सरकार यो सडकको म्याद थप गरिरहने र निर्माण कम्पनी त्यही आडमा लागत बढाइरहने र जनतालाई सास्ती दिइरहने भईरहेको र अब आफुहरु चुप लागेर नबस्ने उनको भनाई छ ।
सडक अलपत्र पार्ने ठेकेदारलाई सरकारले पुरस्कार दिइरहने प्रवृत्ति हावी भएको भन्दै उनले आफू वडाध्यक्ष भएपछि सम्बन्धित निकायमा पटकपटक धाउँदा पनि सडक निर्माणमा चासो नदिएपछि बाध्य भएर सरकारलाई दबाब दिन सडकबाटै सेवा चलाएको बताए ।
सरकारले योे सडकखण्ड बन्ने निश्चित नगरेसम्म अब यहीँ सडकबाटै वडा कार्यालय चलाएर विरोध गर्ने भन्दै उनले शारदाप्रसाद अधिकारीलाई कारबाही गर्नुपर्ने बताए ।






