काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई गैर आवासीय नेपाली सघं (एनआरएनए) ले १२ लाख ८७ हजार ५ सय ८० रुपैयाँ सहयोग गरेको छ ।
एनआरएनए अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
डा. महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरे । विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकाले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि र रोजगारी सृजना हुने उनले बताए ।
राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनु पर्नेमा उनको जोड थियो । त्यस्तै गैरआवासीय नेपाली संघले पनि आविष्कार केन्द्र स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई अवसर दिन सक्ने पुनले बताए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष आचार्यले विभिन्न अभियन्ताबाट प्रतिवद्धता गरिएको रकममध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताए ।
संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको बताए ।
गैरआवासीय नेपाली संघ युरोपका क्षेत्रीय संयोजक चिन्तामणी सापकोटाको सञ्चालन रहेको कार्यक्रममा कार्यक्रममा विभिन्न मुलुकबाट आएका आइसीसी तथा एनसीसी प्रतिनिधिहरु, गैरआवासीय नेपालीलगायत सञ्चारकर्मीहरुको सहभागिता थियो ।






