तक्दीर अधिकारी
सिड्नी । न्यू साउथ वेल्स पुलिस फोर्सले सचेतनामूलक कार्यक्रम गरेको छ । नवआगन्तुक विद्यार्थी तथा अन्य विद्यार्थीहरु र सोझा तथा सामान्य व्यक्तिलाई विभिन्न प्रलोभन देखाएर अपराधिक क्रियाकलापमा फसाईएको पाईएपछि अस्ट्रलियामा रहेका विभिन्न समुदायका अगुवाहरुलाई बोलाएर जनचेतनामूलक कार्यक्रम गरेको हो ।
१६ जुन २०२२ बिहिवार सिड्नीको क्याम्प्सी पुलिस फोर्समा सम्पन्न कार्यक्रममा नेपाल,भारत,भुटान,बगंलादेश,चीन,पाकिस्तान,अफ्रिकी देशहरुबाट गरी झण्डै ५० जना भन्दा बढी समुदायका प्रतिनिधिहरु सहभागी भएका थिए । साथै अवसरमा सहभागीका अनुभव एवम् गुनासोहरु सुन्दै समस्या समाधानका विषयमा छलफल गरिएको थियो ।
पछिल्लो समय विशेषगरी विभिन्न मनी मुलि र डिजिटल क्रिप्टोकरेन्सीको पैसा ग्रैह्र कानुनी रुपले पठाउने क्रियाकलापमा विभिन्न समुदायका व्यक्तिहरु परेको र अनुसन्धानका क्रममा त्यस्ता व्यक्तिहरु त्यसभन्दा अगाडी कुनै पनि अपराधिक गतिबिधिमा संलग्न नभएको तथा जनचेतनाको अभावका कारण विभिन्न प्रलोभनका कारण गर्ने गरेको सम्भावना सहित समुदायका व्यक्तिहरुलाई जनचेतना फैलाउन यस्तो कार्यक्रम गरिएको न्यु साउथ वेल्स पुलिस फोर्सका डिटेक्टिभ सिनियर कन्स्टेबल लान्स कोलियरले बताए ।कार्यक्रमको सहजीकरण गर्दै न्यु साउथ वेल्स पुलिस फोर्सका जासूस निरीक्षक एन्ड्रयू म्याकेले आपराधिक क्रियाकलाप मध्ये अपराधिहरुले कुन कुन कुरामा फसाउन सक्छन् र कसरी फसाउँछन् भन्ने बारे जानकारी गराएका थिए ।
के हो मनि मुलि ?
ग्रैह्र कानुनी रुपमा मनि मुलि अर्थात एक व्यक्तिले एक भन्दा धेरै बैकंहरुमा खाता खोल्ने र श्रोत नखुलेको पैसा जम्मा गर्ने तथा उक्त पैसा अर्को बैकंमा पठाउन सहयोग गर्ने व्यक्तिको खोजि गरेर फसाउने गरेको म्याकेले बताए । यस्ता व्यक्तिहरु बाहिरी देशका हुनेर उनीहरुले फोनमा स्थानीय नम्बर आउने गराएर तर बाहिरबाट फोन गरेर फसाउने गरेको बताएका थिए ।
त्यस्ता अपराधिक व्यक्तिहरुले अस्ट्रेलियन ट्याक्स अफिस,ईन्भेस्टिगेसन कमिटी अथवा पुलिस स्टेशनबाट फोन आएको भनेर मानिसहरुलाई भ्रममा पारी विभिन्न प्रलोभनमा फसाउने गरेको पाईएको स्पष्ट पारे ।
कसरी बँच्ने यस्ता गतिबिधिबाट ?
कार्यक्रममा दिईएका ७ वटा उदाहरण मध्ये ३ वटा घटनामा नेपालीहरु परेको देखाएको थियो । यसले नेपालीहरु पनि यस जालोमा फस्दै गएको उनीहरुको भनाई छ ।नचिनेको मान्छेबाट अप्रत्याशित रुपमा पैसा आयो र कसैले पठाउन भन्यो भने त्यस्तो कार्यमा संलग्न नहुन उनीहरुले आग्रह समेत गरे । उक्त पैसा अस्ट्रेलियाबाट बाहिर जाने र पछि फिर्ता समेत नहुने उनीहरुको भनाई थियो ।त्यस्तै क्रिप्टोकरेन्सीको पैसा परिवर्तन गर्ने बहानामा पनि अपराधिहरुले फसाउने गरेको उनीहरुले बताए । जासूस निरीक्षक एन्ड्रयू म्याकेले समुदायका मानिसहरुलाई कसरी बचाउने र त्यस्तो थाहा पाए गोप्य सुचना कसरी पुलिसलाई दिने भन्ने बारे सहभागीहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।
समुदायमा सचेतना फैलाउने प्रतिबद्धता
कार्यक्रममा एनआएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ,लगायतका समुदायका व्यक्तित्वहरु,पत्रकारहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुले उक्त विषयसगं सम्बन्धित विभिन्न जिज्ञासाहरु राख्दै कार्यक्रममा सिकेका कुराहरुलाई समुदायमा गएर जानकारी गराउने बताएका थिए ।
कार्यक्रममा प्रतिक्रिया दिने क्रममा एनआरएनए अध्यक्ष नन्द गुरुङले कार्यक्रम अत्यन्तै जानकारीमूलक रहेको भन्दै आफुहरुले निमन्त्रणा गर्ने कार्यक्रममा समय उपलब्ध गराउन समेत पुलिस फोर्सलाई आग्रह गरेका थिए । नन्द गुरुङले राखेको यस्तो मागमा पुलिसहरुले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।






