विद्यार्थीलाई आपराधिक क्रियाकलापमा कसरी फसाईन्छ,भन्नेबारे एनएसडब्ल्यू पुलिस फोर्सले जनचेतनामूलक कार्यक्रम गर्दै

सिड्नी । न्यू साउथ वेल्स  पुलिस फोर्सले विद्यार्थीहरुलाई आपराधिक गतिबिधिमा संलग्न हुनबाट बचाउन सचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।

पछिल्लो समय बढ्दो प्रविधिको विकाससगैं अनलाईन मार्फत हुने ठगी र विभिन्न किसिमका अपराधका घटनाहरु बढ्दै जान थालेपछि यसको रोकथामका लागि अस्ट्रेलियामा नवआगन्तुक तथा अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि सचेतनामूलक कार्यक्रम गर्न लागिएको हो ।

विभिन्न प्रलोभन देखाएर विद्यार्थीहरुलाई आपराधिक क्रियाकलापमा संलग्न गराउने तथा अनलाईन ठगीका पीडितहरुको संख्या पनि बढ्दै गईरहेकाले पुलिस फोर्सले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङले यसरी ठगिएर नेपालीहरु समेत आपराधिक क्रियाकलापमा संलग्न भएको पाईएपछि पुलिस फोर्सले आयोजना गरेको जनचेतनामूलक कार्यक्रममा आफुहरु पनि सहभागी हुन लागेको बताए ।

साईबर अपराध,लुटपाट,चोरी जस्ता घटनाहरुमा कसरी विद्यार्थीहरुलाई फसाईन्छ र त्यसलाई कसरी न्यूनिकरण गर्ने भन्ने बारेमा हुन गईरहेको कार्यक्रममा नेपाली विद्यार्थीहरुलाई पनि सहभागी गराईदिन आग्रह गरेको उनले बताए । कार्यक्रम निकै जानकारीमूलक रहेकाले सबैलाई उपस्थित हुन समेत गुरुङले आग्रह गरे ।

गैह्र कानुनी रुपमा विद्यार्थीहरुलाई विभिन्न जागिर या अन्य कुनै प्रलोभनमा पारी फसाउने र अनलाईन मार्फत चिनेजानेकै भरमा पैसा पठाउन लगाउने तथा असुल गर्नको लागि उनी हरु लाई प्रयोग गरिने जस्ता गतिबिधि बढेपछि न्यू साउथ वेल्स राज्य पुलिस फोर्सले कार्यक्रम आयोजना गरेको गुरुङको भनाई छ ।

बिहिवार जुन १६ तारिख १० बजे क्याम्पसी पुलिस स्टेशनमा हुने कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह समेत गरिएको छ । कार्यक्रम निकै महत्वपूण र समय सान्दर्भिक भएकाले संस्थाले सबै विद्यार्थीहरुलाई उपस्थित भई सचेतना लिन पनि आग्रह गरेको छ ।