गोर्खा कपमा बीसीसी यूके लन्डन ब्रान्चले उठायो गुम्बालाई १० हजार पाउन्ड

लण्डन । गुम्बा निर्माणका लागि बुद्धिष्ट कम्युनिटी सेन्टर लन्डन ब्रान्च (बीसीसीएलबी)ले १० हजार पाउन्ड संकलन गरेको छ । सेन्टरका अनुसार विभिन्न क्षेत्रबाट उक्त रकम सकंलन गरिएको हो ।

जसमध्ये तमुधिं यूकेको आयोजनामा जुन ४ तारिख २०२२ मा अल्डरसटमा भएको गोर्खा कपमा राखिएको खाना स्टलबाट ८ हजार १० पाउन्ड रुपैयाँ आर्थिक सकंलन भएको छ । त्यस्तै बीसीसी यूकेबाट १ हजार र अन्य दाताले दिएकोसहित कुल जम्मा १० हजार पाउन्ड जम्मा भएको कार्यक्रम संयोजन तथा व्यवस्थापन आमा समूहकी अध्यक्ष दिलमाया गुरुङले जानकारी दिइन् ।

अध्यक्ष गोपाल तामाङ र आमा अध्यक्ष दिलमायाको नेतृत्वमा रहेको बीसीसीएलबीले लन्डनवासी बौद्ध अनुयायीहरुका लागि गुम्बा आवश्यक रहेको विषयलाई मध्यनजर गर्दै सहयोगका लागि खाना स्टल राखेको थियो ।

सिमसिमे पानीसँगै सुरु भएको गोर्खा कपमा विस्तारै मौसम खुल्दै गएपछि खानाको व्यापार पनि वृद्धि भएको आमा अध्यक्ष गुरुङले बताइन् । ‘टेन्टभित्र उपस्थित भएका दिदीबहिनीहरुको कडा मेहनत, दाजुभाइहरुको साथ र सहयोग, कार्यक्रममा उपस्थित नभए पनि चन्दा दिनुहुने दाताहरु र बीसीसी यूकेको साथ र सहयोगले लन्डन शाखाले १० हजार पाउन्ड आम्दानी गर्न सफल भएको हो,’ दिलमायाले भनिन् ।

उनका अनुसार पुण्य कामका लागि गरेको दुःखको आम्दानीप्रति आमाहरु खुसी बनेका छन् । ग्राहकले उनले बनाएको खानाका परिकारहरुलाई निकै राम्रो प्रतिक्रिया जनाएका थिए ।

बीसीसीएलबीका अध्यक्ष गोपाल तामाङ र संयोजक तथा आमा अध्यक्ष दिलमाया गुरुङले कार्यक्रम सफल बनाउन प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने संस्थाका सदस्यलगायत बीसीसी यूके र अवसर जुराइदिने तमुधिंसहित सबै लाई धन्यवाद दिएका छन् ।