लन्डन — नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले आफ्नो १५औँ स्थापना दिवस भव्य कार्यक्रमबीच मनाएको छ। शुक्रबार साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा केक काटेर वार्षिकोत्सव मनाउनुका साथै विभिन्न क्षेत्रका तीन जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो।
कार्यक्रमको उद्घाटन बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगी र शाखाकी अध्यक्ष विमला सेनेले संयुक्त रूपमा गरेका थिए।
सो अवसरमा महासंघले हरेक वर्ष प्रदान गर्दै आएको ‘वर्ष पत्रकारिता सम्मान–२०२६’ वरिष्ठ पत्रकार मेजर सोनाम छिरिङ शेर्पालाई प्रदान गरियो। बेलायतमा नेपाली पत्रकारिताको विकास र प्रवर्द्धनमा उनले पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।
त्यस्तै, भूतपूर्व गोर्खा सैनिक तथा विश्व कीर्तिमानी पर्वतारोही डा. हरि बुढा मगरलाई विशेष सम्मान प्रदान गरियो। दुवै घुँडामाथिबाट खुट्टा गुमाएपछि पनि सन् २०२३ मा सगरमाथा आरोहण गरी इतिहास रचेका बुढा मगरले हालै प्रतिष्ठित गिनिज वर्ल्ड रेकर्ड्स आइकन अवार्ड समेत प्राप्त गरेका छन्।
यस्तै, दुई दशकभन्दा बढी समयदेखि बेलायतमा रहेर नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएकी लेखक तथा कवयित्री डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ लाई पनि विशेष सम्मान गरिएको थियो। उनी युनिभर्सल पिस फेडेरेसन यूकेकी अध्यक्षसमेत हुन्।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको योगदानबारे प्रशंसापत्र वाचन गरिएको थियो।
सोही अवसरमा शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतको शब्द रहेको ‘हामी पत्रकार’ शीर्षकको गीत सार्वजनिक गरियो। आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगबाट तयार गरिएको उक्त गीतले पत्रकारिताको निष्ठा, साहस र सामाजिक उत्तरदायित्वलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
यसैबीच, पीएचडी उपाधि प्राप्त गरेका डा. दूत पुन, एनआरएनए आईसीसीको उपाध्यक्षमा निर्वाचित विश्वास दीप तिगेला तथा गुल्मी समाज यूकेको अध्यक्षमा निर्वाचित मञ्जु भण्डारी खरेललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।
कार्यक्रमलाई सहयोग पुर्याउने प्रायोजकहरू तथा नेपालबाट आएका कलाकारहरू शिवदास गुरुङ, अस्मिता रानामगर र राजेन्द्र केरुङलाई समेत सम्मान गरिएको थियो। उनीहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।
कार्यक्रममा बोल्दै पत्रकार भगीरथ योगीले पत्रकारहरूबीच एकता, सहकार्य र समझदारी सुदृढ बनाउनुपर्नेमा जोड दिए। एनआरएनए यूकेका संरक्षक डेभिड गुरुङले आगामी स्थापना दिवस नेपाली दूतावास, लन्डनमा आयोजना गर्न सुझाव दिएका थिए। पूर्व डीएसपी शिवजी श्रेष्ठले व्यावसायिक पत्रकारलाई मात्र सदस्यता प्रदान गर्नुपर्ने धारणा राखे।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष योगेश कोयी राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष विमला सेनेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै महासंघलाई अझ सशक्त, सक्रिय र एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा उपाध्यक्ष प्रमिला लाबुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् भने महासचिव खेमराज रानाभाटले सञ्चालन गरेका थिए। सचिव विश्वास दीप तिगेलाले स्वदेश तथा विदेशबाट प्राप्त शुभकामना सन्देश वाचन गरेका थिए।






