काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सिफारिस गरेको नयाँ मन्त्रीहरूलाई सोमबार सपथ ग्रहण गराइने भएको छ । एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा नयाँलाई सिफारिस गरेको हो ।
एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेको स्थानमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको स्थानमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसनकुमार श्रेष्ठको स्थानमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्थानमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको स्थानमा हीराचन्द्र केसीलाई सिफारिस गरेको हो ।
नयाँ मन्त्रीहरूको नामावली आइतबार नै पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईसकेका छन् । शहरी विकास मन्त्रीका लागि सिफारिसमा परेका नेता मेटमणि चौधरीले सोमबार शपथ हुने जानकारी दिए ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीहरूले शपथ लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्रीहरूलाई नियुक्ति गर्नेछन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीमा यसअघि भएको सहमतिअनुसार नै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाइएको बताए ।






