शिब भण्डारी
लण्डन । किराँत राई यायोक्खा वेलायतले किरात राईहरुको महान पर्व उभौली साकेला पर्व भव्य रुपले मनाएको छ ।
२८ मेमा बेलायतका किरात राईहरुले बेलायतको वकिङस्थित ग्याम्वल्सलेन आफ्नै किरात हाउसमा विशेष कार्यक्रमको आयोजना गरि भब्य रुपले मनाएका हुन् ।
किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । किराँत समुदायको भाषा संस्कार तथा संस्कृतिहरुको उत्सवको रुपमा मनाइने साकेला उभौली पर्वमा विशेष अतिथिको रुपमा किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष दिवस राई तथा सचिब हेमन्त कुमार राई समेत सहभागी भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एबम बिशेस अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरि विधिवत रुपमा संचालन भएको थियो
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य,लन्डन बरो अफ हन्स्लोका मेयर विष्णु गुरुङ,राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक डा.महाविर पुन, एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगर,नेपाल आदीवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा लगायतले बोल्दै साकेला उभौली पर्वको शुभकामना व्यक्त गरेका थिए ।
हेल्थ एण्ड सेफ्टी मेजर रिटायर्ड भूपजीत राईले अबगत गराएका थिए भने किराँत राई यायोक्खाका उपाध्यक्ष आशा राइ तथा राज कुमार राई लगायतले बोल्दै साकेला उभौली पर्वमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष राईले किरात राईहरुको आफ्नो संस्कृतिलाई बेलायतमा आएर बोल्न पाउँदा खुसी लागेको बताए । त्यस्तै उनले संस्थालाई बलियो बनाउनका लागि सबै किरात राईहरु एकढिक्का भएर अगाडी जानुपर्ने आवश्यकता रहेको बताए । ‘‘आजको आवश्यकता भनेको सबै किरात राईहरु एकजुट हुनु हो, फुटेर होइन जुटेर जानुपर्छ’’ उनले भने । सोही अवसरमा नेपाली वैज्ञानिक महाविर पुनले आविष्कार केन्द्रका बारेमा बताएका थिए ।
किरात राई हाउस ग्याम्वल्सलेन वकिङमा बिहानै देखि उभौली पर्व मनाउनका लागि विभिन्न ठाउँबाट आएका किरात समुदायका मानिसहरु आफ्नो मौलिक भेषभुषा तथा संस्कृति सहित सुसज्जित भएर अतिथिहरुको स्वागत तथा सत्कारमा लागेका थिए । कार्यक्रम स्थल समेत सजाईएको थियो ।

दिनभरनै किरात राईहरुको साकेला उभौलीमा विभिन्न ठाउँबाट ल्याईएका आफ्ना झाँकीहरु प्रस्तुती गरिएको थियो । उक्त स्थल साकेला उभौलीमय बनेको थियो । सो अवसरमा किराती साँस्कृतिक बाजा ढोल झ्याम्टा बजाउंदै नाच प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साकेला व्यवस्थापन समितिका संयोजक तथा उपाध्यक्ष मेजर भूपजीत राई,संस्थाकी पूर्व अध्यक्ष कल्पना राई,अध्यक्ष मेजर योगेश कोयी राई,उपाध्यक्षहरु राजकुमार राई, प्रेमकुमार राई, आशा राई, शान्तकला राई, बोर्ड अफ डिरेक्टर डा. प्रमोद कोयी, साकेला व्यवस्थापनमा जुटेका थिए भने त्यस्तै कार्यक्रम सन्चालन महासचिवमा देवेन्द्र राई ‘खेरेस’ तथा उपमहासचिव किसन राईले गरेका थिए ।
कार्यक्रममा खानका लागि विभिन्न स्टलहरु समेत राखिएको थियो । साकेला उभौली मनाउन बेलायतका विभिन्न स्थानमा बस्ने किरात राईहरु उपस्थित भएका थिए ।
कार्यक्रममा बेलायतमा स्थापित संघ ,सस्थाका नेतृत्व वर्ग तथा प्रतिनिधिहरु,बेलायत स्थित अन्य समुदायका नेपालीहरु तथा किरात राइ समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम बेलायतका विभिन्न प्रारम्भिक कार्यसमितिका प्रतिनिधि तथा पर्यवेक्षक सहित सहभागीतामा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो ।
भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस :















