लण्डन । बेलायतको स्थानीय निर्वाचनमा नयाँ नेतृत्व चयानका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान राती १० बजे सम्म हुनेछ । बेलायतको स्थानीय निर्वाचनमा ८ नेपाली उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
कहाँ–कहाँ को-को छन् उम्मेदवार ? (सूचीसहित)
विष्णुबहादुर गुरुङ
एक दशक बढी समय बेलायतको स्थानीय राजनीतिमा अनुभव बटुलिसकेका भूतपूर्व गोर्खा मेयर विष्णुबहादुर गुरुङ तेस्रो पटक पुनः काउन्सिलर उम्मेदवारको प्रतिष्पर्धामा छन् । लन्डन बरो अफ हन्स्लोको ५६ औं मेयरमा लेबर पार्टीको प्रतिनिधित्व गर्दै गतवर्ष निर्वाचित नेपाली मूलका गुरुङ लन्डन क्षेत्रका पहिला मेयर हुन् । सन् २०१४ मा हन्स्लोकै हानवर्थ पार्क क्षेत्रबाट पहिलोपटक उनी काउन्सिलर निर्वाचित भएका थिए ।
सन् २०१४ देखि २०१५ मा डेपुटी मेयर समेत बनेका गुरुङ सन् २०१८ मा पुनः काउन्सिलर निर्वाचित भए । दुई पटक काउन्सिलर, एकपटक डेपुटी मेयर र हाल मेयरको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले करिब दुई दशक बेलायती सेनामा सेवा गरेका छन् ।
सन् १९९५ मा सेनाबाट अवकाश भएपछि सन् २००५ देखि सपरिवार बेलायतमा बस्दै आएका गुरुंगले सन् २०११ बाट बेलायतको लेबर पार्टीको सदस्यता लिएका हुन् । गुरुङ सन् २०१४ देखि स्थानीय राजनीतिमा निरन्तर संलग्न हुदै आएका हुन् ।
डा. जगन्नाथ शर्मा
इंग्ल्यान्डको काउन्टी काउन्सिलमा पहिलो पटक नेपाली मूलका उम्मेदवार डा. जगन्नाथ शर्मा मैदानमा छन् । नर्थ योर्कसायरकै कोलबर्न टाउन काउन्सिलर डा. जगन्नाथ शर्मा नर्थ योर्कसायर काउन्टी काउन्सिलमा काउन्सिलर उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका हुन् ।
शर्मा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार छनोट भएका हुन् । नर्थ योर्कसायर इंग्ल्यान्डको ठूलो काउन्टी मानिन्छ । शर्मा काउन्टी काउन्सिलरमा उठ्ने नेपालीमू लबाट पहिलो हुन् । अन्य नेपाली काउन्टीभन्दा तल्लो तह बरो काउन्सिलसम्म मात्र पुगेका छन् ।
रोयल आर्मी मेडिकल कोर्पस्मा रिजर्भड आर्मी अफिसर समेत रहेका शर्मा सन् २०१२ देखि काउन्सिलर छन् । उनी कोर्लबर्न टाउनको डेपुटी मेयर र मेयर भइसकेका छन् । बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा उनी कन्जरभेटिभ पार्टीको उपाध्यक्ष हुन् । शर्माले आफूलाई अर्थमन्त्री सुनाकले चुनावका लागि प्रचारप्रचारमा सहभागी भएर सहयोग गरेको बताएका छन् ।
पर्वत बिहादी रानीपानीका शर्मा बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट पनि हुन् । सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए ।
स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्मा जनस्वास्थ्य तथा संक्रामक रोग विशेषज्ञ पनि हुन् । उनका स्वास्थ्यसम्बन्धी कैयौं जर्नल प्रकाशित छन् । रक्षा मन्त्रालय प्रवेश गर्नुअघि सन् २००१ देखि २००३ सम्म उनी नेशनल हेल्थ सर्भिस् (एनएचएस) मा पनि जागिरे थिए ।
शर्मा बेलायतभित्र तथा बाहिरी मुलुकमा आपतकालीन स्वास्थ्य सम्बन्धि सहायता तथा तालिम प्रदान गर्ने इमर्जेन्सी हयूमेनिटेरियन मेडिकल टिममा पनि सदस्य छन् ।
लक्ष्य गुरुङ
भूतपूर्व ब्रिटिश गोर्खा लक्ष्य गुरुङ दोश्रो पटक निर्वाचनमा सहभागी हुदैछन् । उनले सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट बार्नेट काउन्सिल अन्तर्गत एजवेरबरी वडाका लागि काउन्सिलर पदमा उम्मेद्वारी दिएका हुन् । ब्रिटिश आर्मीमा १८ वर्ष बिताएका उनलाई गोर्खा र नेपाली समुदायले पनि चुनावी अभियानमा साथ दिएका छन् । बेलायतको स्थानीय राजनीतिमा प्रवेश गर्नुअघि उनी एनआरएनए केन्द्र र बेलायती नेपाली समाजमा लामो समयसम्म सक्रिय थिए ।
भीम सारुमगर
पूर्व गोरखा सैनिक भीम सारुमगरले ननिटन तथा वेडवर्थ काउन्सिलमा काउन्सिलरको उम्मेद्वारी दिएका छन् । उनी बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीका तर्फबाट बारपुल वडाबाट काउन्सिलको उम्मेदवार बनेका हुन् । करिब ८ सय नेपाली रहेको उक्त क्षेत्रको स्थानीय पार्कमा गोर्खा स्मारक खडा गरिएको छ ।
रोयल गोरखा इन्जिनियरबाट बेलायती सेनामा प्रवेश गरेका सारुले तीन दशक बेलायती सेनामा बिताएका छन् । ग्रीनवीच विश्वविद्यालयबाट हाइवे इन्जिनियरिङको अध्ययन गरेका सारूले बेलायती सेनाका विभिन्न युनिटमा रहेर उनले २४ वर्ष सेवा गरे । गत सेप्टेम्बरमा क्याप्टेन पदबाट अवकाश पाएपछि अहिले उनी ननिटन टाउनमा ‘सारु इमेजेज’ को व्यवसायमा आबद्ध छन् ।
जीत रानाभाट
कारिब डेढ दशक अघि बेलायत आएका जीत रानाभाटले लन्डनको ग्रीनवीच बरोमा काउन्सिलर पदको उम्मेद्वारी दिएका छन् । ग्रीनवीचमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको ‘प्लमस्टिड एन्ड ग्लिन्डन’ वडाको काउन्सिलरका लागि उनी चुनावी क्याम्पेनमा व्यस्त छन् ।
भाषाको आधारमा ग्रीनवीचमा अंग्रेजी पछि नेपाली भाषा दोस्रोमा पर्दछ । उनी विगत ८ वर्षदेखि बेलायतको लेबर पार्टीमा सक्रिय रुपमा आवद्ध छन् । अहिले उनले लेबर पार्टीको प्लमस्टिड वडामा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
त्यस्तै, एरिथ एन्ड थेम्समिड कन्स्टिचुएन्सी लेबर पार्टीमा फन्ड रेइजिङ अफिसर रहेका रानाभाटले यसअघि सोही कमिटीमा दुई कार्यकाल मिनट सेक्रेटरी तथा एक कार्यकाल उपाध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । बेलायतको नेपाली समुदायमा पनि सक्रिय सामाजिक अभियन्ता हुन् रानाभाट ।
एनआरएनए यूकेको निवर्तमान कार्यसमितिमा सचिव रहेका उनी अहिले रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) का वर्तमान अध्यक्ष पनि हुन् ।
सुमन पुन
कन्जर्भेटिभ पार्टीका तर्फबाट युवा व्यवसायी तथा समाजसेवी सुमन पुनले रसमोर बरो काउन्सिलको चेरिवुड वार्डका लागि उम्मेद्वारी दिएकी छन् ।
सञ्जय पन्त
लन्डन–वाटफोर्ड जनरल अस्पतालमा सिनियर सर्भिस कोअर्डिनेटर सञ्जय पन्त कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर उम्मेदवार छन् ।
वाटफोर्ड बरो काउन्सिलको होलिवेल वार्डबाट उनले उम्मेदवारी दिएका हुन् ।
कमल गुरुङ
कमल गुरुङ लेबर पार्टीबाट लन्डन बरो अफ बार्नेट काउन्सिलको बर्नटओक क्षेत्रमा काउन्सिलर उम्मेदवार छन् । उनी तमु समाज बेलायतको आजीवन सदस्य र सल्लाहकार हुन् । १८ वर्ष भन्दा बढी समय बेलायती सेनामा काम गरेका गुरुङ डेढ दशकदेखि बर्नटओकमा बस्दै आएका छन् ।






