१५ वर्षदेखि निर्माणाधीन रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा : कहिले होला उडान ?

गुल्मी । गुल्मीमा १५ वर्षअघि शिलान्यास भएको रेसुङ्गा विमानस्थल अझै पनि निर्माणाधीन अवस्थामा रहेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमिचौरमा वि.सं. २०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदिप कुमार ज्ञवालीले शिलान्यास गरेको रेसुङ्गा विमानस्थल अझै पनि निर्माणाधीन अवस्थामा रहेको हो ।

विमानस्थलको शिलान्यास गरेका अहिले नेकपा एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले जग्गा, बजेट, सरकार परिवर्तन, योजनाको झन्झटिलो प्रक्रिया र कोरोना भाइरसका कारण निर्माणमा ढिलाइ भएको बताउँदै आएका छन् । जग्गा अधिकरण र बजेटको अभावका कारणले सुरुको करिब ७/८ बर्ष विमानस्थल निर्माणले गति लिन सकेको थिएन । त्यसपछि २०७२ सालबाट विमानस्थल निर्माणको काम नियमित भएपनि अझै सकिएको छैन् । प्रत्येक वर्ष दशैंबाट नियमित उडान हुनेर भनेपनि कैयौं दशैंहरु आशाामा बितिरहेका छन् ।

विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको विमानले कच्ची उडान गरेको गरेको थियो । कच्ची उडानपछि आफुहरुको सपना छिट्टै पूरा हुने भनेर उत्साहित भएको स्थानीय हरि घिमिरेले बताए । तर, कच्ची उडानको ४ वर्ष पुग्न लाग्दा समेत नियमित उडान हुन सकेको छैन् । विमानस्थलमा अहिले विभिन्न चरणका कामहरु फरकफरक निर्माण व्यवसायीहरुबाट भइरहेका छन् ।

टर्मिनल भवनसहित कन्ट्रोल टावर नेपाल नागरिक उड्यन प्राधिकण एरोड्रो इन्जिनीयरिङ्ग विभाग मार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले निर्माण गरेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर ४ करोड ५ लाख २९ हजार ६ सय १० रुपैयाँको लागतमा निर्माण भएको हो । त्यस्तै अर्को महत्वपूणर् संरचना धावन मार्ग कालोपत्रे गर्ने काम सकिएको छ । धावन मार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइको छ । रौताह हरिहरी जेभीले अहिले धावन मार्ग कालोपत्रे गरेको हो । रौताह हरिहरी जेभीले धावन मार्ग कालोपत्रे ७ करोड २५ लाख लगानीमा गरेको हो । कोभिड, निर्माण सामग्री र निर्माण व्यावासायी आफैको ढिला सुस्तीका कारण समयमा काम भएको छैन् ।

बैशाखभित्र परिक्षण उडान

निर्माणाधीन विमानस्थलमा यही बैशाखभित्र परिक्षण उडाउने हुने उक्त आयोजनाका सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले दाबी गरे । ‘अहिले हामी विमानस्थलको सबै कामको अन्तिम चरणमा पुगेका छौं ।’ इन्जिनियर परियारले भने, “अबको १० दिनमा निर्माणको काम सकेर बैशाखभित्र परिक्षण उडान हुन्छ ।” उनले बैशाख अन्तिमसम्म भएपनि परिक्षण उडान हुने दाबी गरे ।

गत १/२ हप्ता निर्माण व्यवसायी सम्पर्कबिहिन भएर केही समस्या भएको भन्दै इन्जिनियर परियारले शुक्रवारबाट काम सुरु भई १० दिनमा निर्माणको काम पूरा हुने बताए । अहिलेसम्म विमानस्थलमा पटकपटक समस्या भइरहेपनि अब केही समस्या नभईकन परिक्षण उडानपछि नियमित उडानको प्रक्रियामा जाने इन्जिनियर परियारको भनाइ छ ।

३५ करोडमा विमानस्थल तयार

कुल ३५ करोड लागतमा रेसुङ्गा विमानस्थल तयार हुने आयोजना कार्यालयले जनाएको छ । आयोजना कार्यालयका सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारका अनुसार पटकपटक गरेर समष्टिगत रुपमा कुल ३५ करोड लागतमा विमानस्थल तयार हुने बताए ।

शिलान्यासको समयदेखि जग्गा अधिकरण, बिस्थापितलाई स्थापित देखि तारजाली, धावनमार्ग, टर्मिनल भवन र कन्ट्रोल टावर लगायतका काममा बजेट खर्च भएको छ । निर्माण सकिएपछि फरकफरक शिर्षकमा भएको खर्च सार्वजनिक गरिने आयोजना कार्यालय जनाएको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो । जग्गा अधिकरणदेखि कटिङ्ग, फिलिङ्ग, टेवा पर्खाल, बाह्य ढल निर्माण, धावन मार्ग र टर्मिनलसहित कन्ट्रोल टावर निर्माणसम्मको खर्च ३५ करोड भएको विमानस्थलको निर्माणको काम हेरिरहेका इन्जिनियर परियारले जानकारी दिए ।

पछिल्लो पटक विमानस्थलको शिलान्यास गरेका ज्ञवालीले निर्माणको अवस्था सम्बन्धमा अनुगमन गरेका थिए । ‘नियमित उडानको लागि नेपाल एयरलायन्स र निजी कम्पनीहरुसँग छलफल भइरहेको छ ।’ पूर्वपरराष्ट्र मन्त्री ज्ञवालीले भने, “निर्माणको काम सकिएपछि परिक्षण गरेर नियमित उडान भइहाल्छ ।” उनले विमानस्थल सुरक्षाको दृष्टिकोणले संवेदनशिल हुने भएकोले सुरक्षा प्रवन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेललाई निर्देशन दिएका थिए ।