डुङ्गाबाट रारा घुम्न सर्वसाधारणलाई खुल्ला

काठमाडौँ, १८ मङ्सिर । ‘मनको माया हजुरको कहिले पाउने हो । हुम्ला, जुम्ला गढीमा कहिले जाने हो, डुङ्गा चढी रारा ताल कहिले घुम्ने हो ।’

कुन्ती मोक्तानले गाएको उक्त गीतको परिणाम ढिलै भए पनि आन्तरिक तथा बाह्य पर्यटकले अन्ततः तालमा डुङ्गा चढ्न पाउने भएका छन् ।

नेपाल सरकार कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घले मुगु जिल्लालाई ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ (ओभीओपी)मा आबद्ध गरेपछि सर्वसाधारणलाई शुल्क लिएर रारा तालमा डुङ्गा चढ्न अनुमति दिइएको हो ।

जिल्लालाई पर्यटकीय गन्तव्यस्थानका रुपमा विकास गर्ने योजनाअनुरुप पहिलोपटक सर्वसाधारणका लागि शुल्क लिएर डुङ्गा सञ्चालन गरिएको ओभीओपी कार्यक्रम संयोजक दिलसुन्दर श्रेष्ठले बताउनुभयो । ओभीओपी कार्यक्रम मुगु जिल्लामा पाँच वर्षसम्म लागू हुन्छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र मुगुस्थित नेपाल उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समितिको कार्यालय र जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा गत महिनादेखि तालमा डुङ्गा सञ्चालन गर्ने अनुमति प्रदान गरिएको हो ।