सिड्नी । नेपाली नयाँ वर्ष २०७९ को पावन अवसर पारेर पेञ्चस नेप्लिज् कम्युनिटी अस्ट्रेलियाले नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
अप्रिल १३ तारिखमा पेञ्चस आरएसएलको सभाहलमा अस्ट्रेलियाका परराष्ट्रमन्त्री मारिस पेने र मानसिक स्वास्थ्य तथा सुसाइड रोकथाम सहायक मन्त्री डेभिड कोलम्यानको उपस्थितिमा कार्यक्रममा सम्पन्न गरिएको हो ।
पेञ्चस नेप्लिज् कम्युनिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठको स्वागत मन्तव्यसगैं सुरु भएको कार्यक्रममा नयाँ वर्ष र वि.स् को महत्व र ज्योतिष शास्त्र अनुसार यसको सान्दर्भिकताका विषयमा (भिमसेन सापकोटा) आचार्य राजन शर्माले प्रष्टाएका थिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा अस्ट्रेलियाका सघींय मन्त्रीद्धय मारिस पेने र डेभिड कोलम्यानले नेपाली नयाँ वर्षमा आफुहरु पनि सहभागी भई नेपाली संस्कृतिसगं जोडिन पाएकोमा खुसी व्यक्त गर्दै आयोजक प्रति आभार व्यक्त गरे ।
नेपाली कला संस्कृतिले विश्वको पर्यटनलाई आकर्षण गरेको भन्दै उनीहरुले विगतका वर्षहरुमा कोरोना महामारीले थला परेको अर्थतन्त्र र नेपाली समुदाय माथि उठ्न सकोस भन्ने शुभकामना व्यक्त गरे । उनीहरुले कोरोना महामारी र अन्य नेपालमा हुने विपत्तिहरुमा अस्ट्रेलिया सरकारले निरन्तर सहयोग गर्दै आएको भन्दै अगामी दिनमा पनि निरन्तर सहयोग गर्ने आशा व्यक्त गरे ।
कार्यक्रममा न्यू साउथ वेल्स राज्य परिषद सदस्य देव गुरुङले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै अस्ट्रेलिया सरकारले अन्य देशलाई जस्तै नेपालबाट पनि कृषि क्षेत्रमा कामदार भिषा उपलब्ध गराउन सहजीकरण गर्न अनुरोध गर्दै दुई देशका उच्च पदर्थ राजतिनीज्ञहरुसगं वैदेशिक यात्रा गर्नुपर्ने बताए । एनआरएनए अस्ट्रेलियाका संस्थापक अध्यक्ष मना केसीले दोहोरो कर हटाएर लगानी गर्ने वातावरण बनाउन आग्रह गर्दै दिल्लीमा रहेको भिषा सेक्सन काठमाण्डौमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका थिए ।
कार्यक्रममा सहभागीहरुले अस्ट्रेलियामा आउने विद्यार्थीहरुको भिषा प्रक्रियामा ढिला भएको भन्दै सरकारले गम्भीर भएर लाग्नका लागि आग्रह गरेका थिए । कार्यक्रममा सहभागी मन्त्रीहरुले सबै मागहरु सम्बोधन गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, झापाली समाजका अध्यक्ष उमेश पन्थ लगायत समुदायका अगुवाहरू र कम्युनिटीका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन ईनोस नेवारले गरेका थिए ।






