यी रोग लागेका बिरामीले पाउने छन् अब मासिक ५ हजार उपचार खर्च

काठमाण्डौ । मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षाघात भएका बिरामीले मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च पाउने भएका छन् ।

सरकारले गत भदौमा ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा उल्लिखित कार्यक्रमको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि बनाएर कार्यान्वयन गर्ने भएपछि बिरामीहरूले उपचार खर्च पाउने भएका हुन् ।

मन्त्रालयले तयार पारेको ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने कार्यविधि – २०७८’ स्वास्थ्य मन्त्री विरोध खतिवडाले १३ चैतमा स्वीकृत गरेका थिए । मन्त्रालयले यो कार्यक्रमका लागि १ अर्ब ४५ करोड रुपैयाँ विपन्न उपचार कोषमा रहेको रकम रकमान्तर गरी छुट्याएको छ ।

कसले पाउँछन्  उपचार खर्च ?

कार्यविधिको दफा २ (ख) मा मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका र क्यान्सर रोग पहिचान भई उपचारपछि निको भइसकेका बाहेकका चिकित्सकले तीन-तीन महीनाभित्र निरन्तर निगरानी क्लोज फलोअप राखेका व्यक्तिले यो सुविधा पाउनेछन् ।

त्यसै गरी मेरुदण्ड पक्षाघात भएका (रातो र नीलो अपाङ्ग परिचयपत्रवाहक) व्यक्तिले पनि औषधि उपचार खर्च पाउनेछन् । सरकारले तोकेको मासिक पाँच हजार रुपेयाँका दरले तीन-तीन महीनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको ब्याङ्क खातामा रकम जम्मा गरिदिने उक्त कार्यविधिमा उल्लेख छ ।

तर, नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा संगठनबाट रोजगारी निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी पेन्सन प्राप्त गरिरहेको व्यक्तिले यस निर्देशिका बमोजिम मासिक उपचार खर्च पाउनेछैनन् ।

यस्तै, सरकारबाट उपलब्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपाङ्ग भत्ता पाउनेले सो भत्ता वा उपचार खर्चमध्ये एक रोज्नुपर्नेछ । एकभन्दा बढी रोग लागेकाहरूले पनि दोहोरो भत्ता पाउनेछैनन् ।