एनआरएनएमा सहमतिको प्रयास असफल,शेष घलेले गराई छाडे निर्वाचन- अब के होला ?

काठमाडौँ । गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेले गराएको निर्वाचनलाई संघका अधिकांश सदस्य तथा अभियन्ताहरुले बहिष्कार गरेका छन्। अध्यक्ष कुमार पन्तले बुधबार दिन भरी सहमति गर्न प्रयास गर्दा पनि घले सहमतिमा नआए पछि संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुले प्रमुख संरक्षक घलेलाई दिएको म्यान्डेट फिर्ता लिएको घोषणा गरेका थिए।

त्यस्तै बुधबार नै प्रमुख निर्वाचन अधिकृत विश्व बराल सहित निर्वाचन समितिका अधिकांश सदस्यहरुले आफ्नो पदबाट राजिनामा दिए। तर घलेले निर्वाचन समिति नै पुनर्गठन गरिएको भन्दै निर्वाचन कार्यक्रम अगाडी बढाएका थिए। बुधबार राती घोषणा गरिएको नयाँ कार्य समितिमा बिनोद कुंवरलाई अध्यक्ष घोषणा गरिएको छ। कुंवर दक्षिण कोरियामा बसोबास गर्ने व्यवसायी हुन्।

त्यस्तै नयाँ कमिटिमा उमेश पुडासैनी (कुवेत), बाबु राम लामा (अमेरिका), सुरेन्द्र सिग्देल (अष्ट्रेलिया), तथा भोमा लिम्बु (अष्ट्रेलिया) उपाध्यक्ष चुनिएका छन्। यसै गरी महासचिवमा जानकी गुरुङ (बेल्जियम), सचिव जुनु गुरुङ (कोरिया), कोषाध्यक्ष डिला खरेल (अष्ट्रेलिया) निर्वाचित भएको घोषणा गरिएको छ ।

क्षेत्रीय संयोजकहरुमा केशव कंडेल (ओसनिया), कृष्ण पोखरेल (अमेरिकाज) तथा उल्का घिमिरे (युरोप) रहेका छन्। यसै बीच केन्द्रीय सल्लाहकार कुल आचार्यले आफुले संस्था विभाजन नहोस् भनेर सहमति गरेको जनाएका छन्।

उनले संस्थापन पक्षले संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज गरिएको भन्ने निर्णय फिर्ता लिने, एनसीसीहरुको अधिकार सुरक्षित गर्ने उद्देश्यले नै आफुले सहमति गरेको खुलासा गरे। आचार्यले आपसी मनमुटाव त्यागेर संस्थालाई एकजुट गर्न अपिल पनि गरेका छन्।