आज ११२ औँ अन्तराष्ट्रिय महिला दिवस

काठमाडौं । आज ११२ औँ अन्तराष्ट्रिय महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसका अवसरमा यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको छ ।

महिलासगं सम्बन्धित विभिन्न सघं संस्थाहरुले आज देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।

नेपालको संविधानले पनि महिलाउपर हुने सबै प्रकारका भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ ।

राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशितालाई सुनिश्चित गरेको छ । महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ । यद्यपि नेपालको संविधानले प्रत्याभुत गरेको सबै महिला हक अधिकारको कार्यान्यन पूणर्रुपमा हुन भने चुनौतिपूर्ण रहेको छ ।

महिला अधिकार, महिला सशक्तिकरण र समानताका विषयहरु अहिले विश्वभर नै यस दिवसका विषय बन्ने गरेका छन् । यो दिवस मनाउन थालिएको शताब्दि पुगेको छ तर अहिले पनि विश्वभर नै महिलाले समानता र आफ्ना अधिकारका लागि आवाज उठाइरहनु परेको छ ।