नारी निकुञ्ज न्यू साउथ वेल्स राज्य परिषदले अस्पतालको सहयोगार्थ मनायो नारी दिवस

तक्दीर अधिकारी

सिड्नी । गैह्र आवासीय नेपाली सघं (एनआरएन) अन्तर्गतको नारी निकुञ्ज न्यू साउथ वेल्स राज्य परिषद अस्ट्रेलियाले अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम सहित मनाएको छ ।

५ मार्च शनीवार रकडेल स्थित इन्द्रेणी फनसन सेन्टरमा  सबै जना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ ’ब्रेक द बायस’ नाराका सहित  कार्यक्रम सम्पन्न भएको हो ।

हरेक वर्ष नारी दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्दै आईरहेको संस्थाले यस वर्ष नेपालमा स्थापना हुदै गरेको एक अस्पतालको सहयोगार्थ कार्यक्रम सम्पन्न गरेको छ ।

प्रवासमा रहेर पनि नेपालमा रहेका महिलाहरुले भोग्नुपरेका समस्याहरुलाई थोरै भएपनि मल्हम लगाउने उद्धेश्यले उक्त अस्पताललाई सहयोगार्थ कार्यक्रम गरिएको नारी निकुञ्जले जनाएको छ । महिलाहरुको प्रजनन स्वास्थ्य, आङ खस्ने र पाठेघरको समस्या भएका महिलाहरुको उपचारका लागि दोलखा जिल्लाको चरिकोटमा डा. रे हड्सनको नेतृत्वमा बन्दै गरेको अस्पताललाई सहयोग गर्ने उद्धेश्यले कार्यक्रम गरिएको एनआरएनए नारी निकुञ्ज न्यू साउथ वेल्स सयोंजक समिता गुरुङले जानकारी दिईन् । महिला तथा बालबालिकाको उपचारका लागि निर्माण हुदै गरेको अस्पताललाई सहयोग गर्ने आफुहरुको प्रमुख उद्धेश्य रहेको उनले बताईन् ।

उक्त कार्यक्रममा सहभागीहरुले महिला हिसां र लैङ्गिक विभेदका कारण महिलाहरुले भोग्नुपरेका कठिनाईहरुका बारेमा बोलेका थिए ।कार्यक्रममा बोल्दै एनआरएनए नारी निकुञ्ज अस्ट्रेलिया सयोंजक मञ्जु खड्का, कार्यक्रमका मुख्य सयोंजक एवम् बरिष्ठ गाईनोलोजिष्ट डा. रे हड्सन, कार्यवहाक राजदुत दुरपदा सापकोटा, ओसियना क्षेत्रीय सयोंजक होम पाण्डे, एनआरएनए अस्ट्रेलिया अध्यक्ष नन्द गुरुङ, मेम्बर अफ पार्लामेन्ट विन्सी लिन्सी लगायतले बोल्दै महिलाहरु लैङ्गिक विभेदका कारण अवसरबाट बञ्चित हुनुपर्ने कारण र नारी शसक्तिकरणका विषयमा धारणा व्यक्त गरेका थिए । उनीहरुले अस्ट्रेलिया जस्तो विकसित देशमा समेत महिलाहरु विभेदमा पर्ने गरेको उल्लेख गरे । उनीहरुले महिलाहरुले अधिकार प्राप्तीका लागि आफै अग्रसर बन्नुपर्ने बताएका थिए ।

सोही अवसरमा दोलखामा अस्पताल निर्माण गर्दै गरेका बरिष्ठ गाईनोलोजिष्ट डा. रे हड्सनले आफ्नो प्रोजेक्टको बारेमा प्रस्तुती राखेका थिए । उनले नेपालमा महिलाहरुको स्वास्थ्यको अवस्थाको बारेमा चित्रण गर्दै चेतना अभाव र अज्ञानताकै कारण महिलाहरु गम्भीर स्वास्थ्य समस्यामा फस्ने गरेको बताए । हड्सन्टले नेपालका विभिन्न ठाउँहरुमा महिला स्वास्थ्यका विषयमा शिविरहरु आयोजना गर्दै आईरहेका छन् ।

कार्यक्रममा एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, उपसयोंजक सुकृति भट्ट लगायत एनआरएनका पदाधिकारी, महिला सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायत  अन्य राज्यहरुबाट पनि कार्यक्रमा सह भागीता   रहेको थियो ।