काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालको दुरूपयोग गरी शान्ति खलबल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
यस्ता गतिविधिले समाजमा उत्तेजना र अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने भन्दै मन्त्रालयले यस्ता गतिविधि गरेको पाइएमा नजिकको प्रहरी वा प्रशासन कार्यालयमा खबर गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ- विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झूटा क्याप्सन राखी भिडिओ तथा तस्वीरहरू अपलोड गरेको देखिएको हुँदा त्यस्ता क्रियाकलापमा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।
त्यस्ता क्रियाकलाप विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने गृहले चेतावनी दिएको छ ।







