लण्डन । बेलायतबाट विद्युतीय राहदानी (ई -पासपोर्ट)को सेवा सुरु गरिएको छ । लण्डन स्थित नेपाली दूतावासले पनि विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ ।
दूतावासले एक सूचना जारी गर्दै मार्च ३ बाट विद्युतीय राहदानीको लाइभ ईनरोलमेन्ट प्रक्रिया सफलतापूर्वक सम्पन्न भई सेवा प्रारम्भ भएको जनाएको छ । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, एवम् राजदुतावासका कर्मचारी,दूतावासकी उपनियोग प्रमुख रोशन खनाल साथै दूतावासका अधिकारी र राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालको उपस्थितिमा विद्युतिय राहदानी सेवा सुरु गरिएको हो ।
दुतावासले ई-पासपोर्ट आवेदन दिनका लागि प्रि-ईनरोलमेन्ट बुकिङ खुल्ला गरिएको पनि जनाएको छ । विद्युतिय राहदानी सुरु भएको प्रारम्भिक चरण भएकाले केही दिनका लागि सिमित बुकिङ खुल्ला गरिएको भन्दै दुतावासले उक्त अवधिभर हाल राहदानीको मिति समाप्त भएका,राहदानी हराएका वा राहदानीको बहाल अवधि तीन महिनासम्म बाँकी रहेकाले मात्रै प्रि-ईनरोलमेन्ट भर्न पनि आग्रह गरिएको छ ।
आयरल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीहरुका लागि भने विद्युतिय राहदानी लिनका लागि एमआरपी फारम भरी पुरानै पक्रियाबाट आवेदन दिन अनुरोध समेत गरिएको छ ।







