आज ग्याल्पो ल्होसार पर्व मनाईँदै

काठमाडौँ । आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ ।

यस पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

यसलाई पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ । पर्वका अवसरमा सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ ।

पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन् ।