विदेशी पर्यटकलाई आन्तरिक उडानमा भाडा छुट दिईने

काठमाण्डौ । विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक उडानमा लाग्ने भाडामा छुटदिने सहमती भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरुलाई नेपाली नागरिक सरह (आन्तरिक हवाइ जहाजको भाडामा) छुटदिने सहमती गराएको हो ।

यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले संस्थागत निणर्य गरी कम्तीमा पनि २० प्रतिशत सम्म होटलको कोठा भाडामा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई छुट दिने निणर्य गरेको छ ।

यसरी विदेशबाट आउने नागरिकलाई हवाइ भाडामा छुट दिने सहमती गर्ने हवाइ जहाज कम्पनीहरुमा बुद्ध एअरलाइन्स प्रालि तथा यति एअरलाइन्स प्रालि रहेको सो समितिका संयोजक राजाराम गिरीले बताउनुभयो ।

यतिमात्र नभइ उक्त समितिले कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण थला परेको उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान, पर्यटन उद्योगको नयाँ सम्भावनाहरुको खोजी, पहिचान तथा प्रर्वद्धनका लागि तथा यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानमा बृद्धि गर्ने अभिप्रायले सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलव्ध गराउनका लागि आह्वान गरेको छ ।

समितिले हाल कोभिड सङ्क्रमण घट्दो क्रममा रहेको अवस्थालाई मध्यनजर गरी नेपाल सरकार मन्त्रिपरिषद्वाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८ लाई परिमार्जन गरी यात्रा सम्वन्धी मापदण्डलाई थप सरलिकरण गर्न कोभिड १९ सङ्कट व्यवस्थापन केन्दलाई अनुरोध गरिएको जनाएको छ ।