लण्डन । गैह्र आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका सल्लाहकार कुल आचार्यले युक्रेनमा रहेका सबै नेपालीहरुको सुरक्षा र सकुशल उद्धारको व्यवस्था मिलाउन नेपाल सरकार लगायत सबै पक्षलाई अपील गरेका छन्।
शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी संघको दशौँ महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदका उम्मेदवार समेत रहेका आचार्यले परराष्ट्रमन्त्री डा नारायण खड्कासंग सम्पर्क गरी युक्रेनमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारका लागि सक्दो पहल गरि दिन अनुरोध गरेको जनाए। मन्त्री खड्काले नेपाल सरकारले युक्रेन तथा स्लाेभाकियासँग सम्पर्क गरि नेपालीहरुकाे सुरक्षा तथा उद्धारका लागि प्रयास गरिरहेकाे बताएकाे आचार्यले जीएनएनलाई जानकारी दिए । उनले युक्रेनमा रहेका नेपालीहरुलाई अहिलेकाे अवस्थामा सकभर सुरक्षित स्थलतर्फ जान आग्रह गरे ।
मैले एनआरएनए युक्रेनका अध्यक्ष हरि मल्लजीसंग सम्पर्क गरी त्यहाँको स्थितिको बारेमा जानकारी लिएँ । ‘उहाँले हाल युक्रेनसँग सिमा जोडिएको स्लोभाकियाले युक्रेनी तथा विदेशी नागरिकहरुलाई सिमा खुला गरिदिएकाले झण्डै ३०० नेपालीहरु त्यसतर्फ गएको बताउनुभयो । यस्तो जटिल अवस्थामा पनि एनआरएनएका साथीहरुले पुर्याइरहनु भएको सहयोगका लागि मैले उहाँहरुलाई धन्यवाद दिएँ,’ आचार्यले विज्ञप्तिमा भनेका छन्।
‘रसियाले एकपक्षीय रुपमा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै युक्रेनमा हमला गरे पछि त्यहाँ रहेका नेपालीहरुको स्थितिबारे हामी सबै चिन्तित छौं। युक्रेनमा थप मानवीय क्षति हुन नदिन र त्यहाँ रहेका सबै नेपालीहरुको सुरक्षा र सकुशल उद्धारको व्यवस्था मिलाउन पनि म सबै पक्षलाई हार्दिक अनुरोध गर्दछु,’ आचार्यले वक्तव्यमा भनेका छन्।
हेर्नोस् आचार्यद्वारा जारी विज्ञप्ति जस्ताको तस्तैः
रसियाले एकपक्षीय रुपमा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै युक्रेनमा हमला गरे पछि त्यहाँ रहेका नेपालीहरुको स्थितिबारे हामी सबै चिन्तित छौं। यसै सिलसिलामा मैले आज एनआरएनए युक्रेनका अध्यक्ष हरि मल्लजीसँग सम्पर्क गरी त्यहाँको स्थितिको बारेमा जानकारी लिएँँ । उहाँले हाल युक्रेनसँग सिमा जोडिएको स्लोभाकियाले युक्रेनी तथा विदेशी नागरिकहरुलाई सिमा खुला गरिदिएकाले झण्डै ३०० नेपालीहरु त्यसतर्फ गएको बताउनुभयो । यस्तो जटिल अवस्थामा पनि एनआरएनका साथीहरुले पुराइ रहनु भएको सहयोगका लागि मैले उहाँहरुलाई धन्यवाद दिएँ । मैले माननीय परराष्ट्रमन्त्री डा नारायण खड्काज्यूलाई सम्पर्क गरी युक्रेनमा रहेका नेपालीहरुको सुरक्षा तथा उद्धारका लागि सक्दो पहल गरि दिन अनुरोध गरेको छु । युक्रेनमा थप मानवीय क्षति हुन नदिन र त्यहाँ रहेका सबै नेपालीहरुको सुरक्षा र सकुशल उद्धारको व्यवस्था मिलाउन पनि म सबै पक्षलाई हार्दिक अनुरोध गर्दछु ।
कुल आचार्य
सल्लाहकार
एनआरएनए आइसीसी
२५ फेब्रुअरी, २०२२






