नाराबाजीबीच संसदमा टेबल भयो एमसिसी

काठमाण्डौ । अमेरिकी सहयोग परियोजना (एमसिसी) प्रतिनिधिसभामा टेबल भएको छ । अर्थमन्त्रीका तर्फबाट सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसिसी सम्झौता टेबल गरेका हुन् ।

संसदको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने बताइएको थियो । एमसिसी संसदमा पेस हुँदैगर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको थियो । नाराबाजीका बीचमै सञ्चारमन्त्री कार्कीले सम्झौता टेबल गराएका हुन् ।

सत्तारूढ गठबन्धनमा सहमति नभएपछि यसअघि यो सम्झौता टेबल हुन सकेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बसेकै बैठकमा एमसिसी सम्झौता टेबल गर्ने पक्षमा थिए । तर, सहमति नजुट्न शुक्रबार यो संभव भएको थिएन ।

२०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा प्रस्ताव दर्ता गरेको थियो । प्रस्ताव दर्ता भए पनि नेकपाको आन्तरिक विवादका कारण सभामुखले टेबल गर्न दिएका थिएनन् ।

सत्तारूढ गठबन्धनमा लामो विवाद र बहसपछि एमसिसी संसद बैठकको कार्यसूचीमा परेको हो । अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्नेछ । त्यही बैठकबाट एमसिसी सम्झौतामाथि छलफल सुरू हुने सम्भावना छ ।