एमसीसी भोलि संसदमा टेबल गर्ने कांग्रेसको निणर्य

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्न सरकारलाई अनुरोध गर्ने निणर्य गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निणर्य गरेको सांसद गगन थापाले जानकारी दिए । थापाका अनुसार बैठकमा प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले भोलिको प्रतिनिधिसभा बैठकमा परियोजना टेबल गर्ने जानकारी गराएका थिए ।

“आजको बैठकले एमसीसी परियोजना टेबल गर्ने निणर्य गर्‍यो । एमाले र माओवादी यसको पक्षमा उभिन्छन् भन्ने बैठकको विश्वास छ,” उनले भने, “प्रधानमन्त्री भोलि परियोजना टेबल हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ।”

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निणर्य गरेर संसदमा दर्ता गरेको एमसीसी सम्झौता पारित गराउन कांग्रेसले पहल लिएको उनले बताए ।

कांग्रेसले तत्कालीन नाफा-घाटा नहेरेर आफ्नो जिम्मेवारी पूरा गर्ने हिसाबले एमसीसी अघि बढाउन लागेको प्रधानमन्त्री देउवाले संसदीय दलको बैठकलाई बताएका थिए ।

कांग्रेस संसदीय दलका नेता देउवाको अध्यक्षमा बैठक बसेको थियो । बैठकमा कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौता र त्यसका विविध आयामबारे बैठकमा धारणा राखेका थिए ।