लमजुङको दोर्दी खोलामा बाढी ४ को मृत्यु

बेसीसहर । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो अचानक बाढी आउँदा ठूलो जनधनको क्षति पुगेको छ । बाढीले बगाउँदा चारजनाको मृत्यु भएको छ । दर्जनौं बेपत्ता छन् । दोर्दी गाउँपालिकाको शेरापुलनजिकै दुईजना र कीर्तिपुरबेसीमा दुईजनाको शव फेलापरेको छ । उनीहरुको पहिचान हुन नसकेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

मनास्लु हिमाल काखबाट बगेको दोर्दीमा मुहान वरपर पहिरो गएका कारण बाढी आएको स्थानीयले बताएका छन् । पहिरो गएर एक घन्टाजति थुनिएको खोला अचानक फुटेर बाढी आएको जनाइएको छ । दोर्दी गाउँपालिका वडा नम्बर–६, ताँजेमा रहेको ५४ मेगावाट क्षमताको सुप्पर दोर्दी जलविद्युत् आयोजनाको टनेलमा बाढी फस्दा तीनजना बेपत्ता भएका छन् ।

टनेलभित्र बाढी पसेपछि फसेका १७ मजदुरमध्ये १४ जनाको सकुशल उद्धार गरिएको आयोजनाका प्रवद्र्धक केशव रायमाझीले बताए । उनकाअनुसार हराइरहेका तीन मजदुरको खोजी भइरहेको छ । बाढीले आयोजनाको दुईओटा लोडर, दुईओटा ट्याक्टर, दुईओटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामग्री बगाएको रायमाझीले बताए । ‘पहिला हराएका मजदुरको खोजी भइरहेको छ । क्षतिको अरु विवरण संकलन गर्न भ्याइएको छैन’–उनले भने ।

बाढीमा परी लिबर्टी इनर्जी पावर कम्पनीद्वारा प्रवद्र्धत दोर्दी जलविद्युत् आयोजनामा कार्यरत् मजदुरहरु पनि हराइरहेका छन् । आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले आफ्नो जलविद्युत् आयोजनामा कतिजना मजदुर हराएका छन् भन्ने एकिन जानकारी नै पाउन नसकेको बताए ।

‘धेरैजना हराएका छन् । कतिको उद्धार गरिरहेका छौं’–वस्तीले भने–‘कतिलाई बगायो या कतै लुकेका छन्, जानकारी पाउन सकेका छैनौं ।’ उनकाअनुसार दर्जनौं मजदुर हराइरहेका छन् । बाढीले अरु धेरै जनधनको क्षति पुगेको स्थानीयले बताएका छन् । स्थानीय धर्मराज गुरुङकाअनुसार छोटेखोलाका कुमार लामाको ट्याक्टर र चालक बगाएको छ । चालकको परिचय खुलेको छैन ।

बाढीले वितन्डा मच्चाएपछि सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, डीएसपी रविन्द्रमान गुरुङ, प्रहरी निरीक्षक वसन्त पाण्डेसहितको टोली घटनास्थल पुगेको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयहरु खोजी तथा उद्धारमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *