काठमाण्डौ । शुक्रबार प्युठानमा जन्ती सवार जीप दुर्घटनामा पर्यो । दुर्घटनामा परी ८ जनाको निधन भयो । उक्त दिन साँझ ८ बजेको समयमा प्युठानको गौमुखे गाउँपालिका-६ लिवाङ्गबाट जिपमा विवाहको बाजा तालको गीत घन्काउँदै र जन्तीहरु मध्ये युवाहरुले हात नचाउँदै हर्षखुशीका साथ सोही जिल्लाको नौवहिनी गाउँपालिका-६ साविक लुङ गाविस-८ को मौरीझारेटोलस्थित बेहुली लिन पुगेका थिए ।
दुर्भाग्य उसै दिन राती बेहुली लिएर फर्किएका जन्ती चढेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भयो । दुर्भाग्वश उक्त दुर्घटनमा परी एकै परिवारका ३ सदस्यले ज्यान गुमाए । जीपमा सवार कसैले पनि त्यो रमझम एकै छिनमा सकिन्छ भनेर कल्पना समेत गरेका थिएनन् ।
शुक्रबार साँझ ८ बजे पछि जन्ती पर्छियो । जग्गेमा बेहुला बेहुलीलाई राखेर सिन्दुर सजाउने देखि ढोगभेट कार्य सकियो । जन्तीहरुलाई खानपिन गराईयो । २० बर्षीया बेहुली रिमा जिसीका जेठा बाबु डम्वरबहादुर जिसीले पानी परिरहेको र चिप्लो बाटो भएका कारण भोलि बिहानै जान बेहुला पक्षलाई निकै अनुनय गरे । जन्तीहरुले मान्दै नमाने पछि अन्तत राती १० बजेर ५५ मिनेट जाँदा जन्तीलाई बिदाई गरे ।
तर बेहुली सहित जन्तिलाई बिदाई गरेका माईती पक्षले रातको साढे १ बजे गाडी दुर्घटनामा परेको खबर पाउँदा छाँगाबाट खसेजस्तै भए । ’ लुङगाउँका समाज सेवी अम्मरबहादर केसीका अनुसार गोविन्दबहादुर जिसीका दुई छोरा चार छोरीहरु मध्ये बेहुली रिमा माईली छोरी हुन् । जेठीको विवाह भएको छ ।
हिजो दिदीको विवाहमा लोकन्ती बनेर हिडेकी साईली छोरी १८ बर्षीया विपना जिसीको पनि त्यस दुर्घटनामा परि मृत्यु भएको छ । अर्की लोकन्ती वेहुलीकी भाउजु सावित्रा जिसी दुर्घटनामा परि गम्भीर घाईते छन् । दुई बहिनीले गाउँकै विद्यायमा कक्षा १० मा पढ्दै थिए । यहि क्रममा लिवाङबाट केहि दिन अघि रिमालाई माग्न आए ।
केटा केटीको मनपरापर भए पछि बाबु आमले छोरी दिने निणर्य सुनाएर माघ २१ विवाहको लगन जुराईयो । सोही अनुरुप हर्षित र गर्वित बेहुलीका बाबु आमा , हजुर आमा लगायतले आर्शिवाद दिदै टिकाटाला गरेका थिए । दुर्भाग्यः वेहुली छोरी घाईते भए पनि अर्की छोरी विपनालाई गुमाउँदा बाबु आमा लगायतको परिवारजन अर्धमुर्छित भएका छन् ।
लिवाङ्गका वासीन्दा तथा वेहुलाका छिमेकी सुरेश बिश्वकर्माका अनुसार यता २५ बर्षीया बेहुला दानबहादुर खड्काले पनि एउटी सहोदर दिदी नन्दी खड्का सहित सबै नजिकका आफन्त गुमाएका छन् । उनका अनुसार श्रीमान श्रीमति र छोरी सहित एकै परिवारका तीन जना मृत्यु भएका बसन्त खड्का , बसन्ती खडका र उनकी ११ बर्षीया छोरी एलिसा वेहुलाका मामाकी छोरी तर्फका दिदी भिनाजु र भाञ्जी हुन् ।
मृतक बसन्त खड्का नेपाली कांग्रेस गौमुखी गाउँ कार्यसमितिका उपसभापति पनि थिए । बिश्वकर्माका अनुसार मृतक नन्दी खड्का वेहुलाकी काकी हुन् । लुङ गाउँका समाज सेवी अम्मरबहादुर केसीले विजुवार अस्पतालबाट वेहुलीकी मृतक वहिनी विपनाको शव बुझेर अन्त्यष्टि गरेका छन् ।
उता लिवाङ्ग गाउँका मृतक ७ जनाको शव पनि पोष्टमार्टम पछि दाहसंस्कार गरिएको छ । बिश्वकर्मा भन्छन् -‘लिवाङ गाउँका मृतक सात जना मध्ये जीप चालक बलबहादुर बुढा मगरको शव मगर समुदायको धर्म संस्कार र उनीहरुको परम्परागत घाट अलि माथी लगेर दाहसंस्कार गरिएको छ ।
अरु ६ वटा शव झुम्रिकखोलाको लिवाईदोह घाटमा लगेर लहरै दाहसंस्कार गरिएको छ । दुर्घटनामा परि बेहुलाका सहोदर भाई नरेश खड्का गम्भीर घाईते छन् । बेहुला र बेहुली सहित पाँच जना घाईतेलाई बुटवल रिफर गरिएको, ती मध्ये बेहुलाको अवस्था सामान्य रहे पनि बेहुलीको हात चुँडिएको र अवस्था गम्भीर रहेको प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
बिश्वकर्माका अनुसार बेहुली भित्राउन घर सजाएर बसेका र भोज भतेरको तयारी गरिरहेका बेहुलाका बाबु आमा घरै थिए । दुर्भाग्यः बेहुला र बेहुली यति बेला अस्पतालको शैयामा छट्पटाएका छन् । एउटी छोरी केशरी खड्कालाई गुमाए पछि बेहुली भित्राउन सजाईको त्यो घर काज किरियाको कुनोमा परिणत हुँदैछ ।






