काठमाण्डौ । अबदेखि विदेश स्थित नेपाली दुतावासबाटै इ-पासपोर्ट (विद्युतीय राहदानी) पाईने भएको छ । राहदानी विभागका अनुसार आईतबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो विद्युतीय राहदानी उत्पादन भएको छ ।
विदेशस्थित नियोगबाट लाइभ इनरोलमेन्ट गरी ई-पासपोर्ट सफलतापूर्वक उत्पादन भएको विभागले जनाएको छ । विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले आइतवारबाटै बुकिङ खुला गरेको छ ।
शुरूको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको बताइएको छ । विभागका अनुसार अन्य खाडी मुलुकहरू र मलेशियामा रहेका नेपाली नियोगहरूमा विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरू पठाइसकिएको छ ।
उक्त सामानहरू जडान हुनासाथ केही दिनभित्रै विद्युतीय राहदानीको सेवा शुरुआत हुने विभागले जनाएको छ । त्यस्तै यी बाहेकका अन्य मुलुकहरूमा रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ता भित्र सेवा सञ्चालनमा आउने विभागको भनाइ छ ।






