काठमाडौं । वैदेशिक रोजगारीमा गएर समस्यामा परेका युवाहरुको समस्या सुल्झाउन गएका ज्ञानेन्द्र शाहीका कार्यकर्ता र युट्युवर माथि आक्रमण भएको छ ।
सामाखुसी स्थित ट्रिपल स्टार म्यानपावर कम्पनीमा अभियान्ता र यूट्युवरमाथि म्यानपावरका मान्छले नियोजित आक्रमण गरेको पाइएको छ । उक्त मेनपावर मार्फत भिजिट भिसामा रोजगारीका लागि दुबई पुगेकाहरुले त्यहाँ काम नपाएको र खानबस्न पनि नदिइएको भन्दै आफन्तलाई सम्पर्क गरेपछि आफन्तहरुले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीसँग सहयोगका लागि आग्रह गरेका थिए ।
पीडितका तर्फबाट करिब १० जनाको समूह शाहीको नेतृत्वमा रहेको सामाजिक संस्था ‘हाम्रो नेपाल हामी नेपाली’ को सम्पर्कमा पुगेका थिए । उक्त संस्थाले युट्युवरलाई पनि सगैं लगेर मगंलबार मेनपावर सञ्चालकसगं अन्तर्वाता गर्ने गरी तैयारी गरेका थिए ।
उक्त तैयारी र सल्लाहअनुसार एवान यूट्युव च्यानलबाट प्रकाश थापा, मेकिङ नेपाल यूट्युव च्यानलका हरी पाठक र मेकिङ नेपालकै दिपेशराज पाण्डेसहित ‘हाम्रो नेपाल हामी नेपाली’ टिमका सदस्य दशरथ भण्डारी र प्रकाश शाहीको टोली पीडितका परिवारलाई सँगै लिएर म्यानपावर कम्पनीमा पुगेका थिए । त्यहाँ पुगेपछि युटुवरले क्यामेरा खोलेर पीडितसँग अन्तरवार्ता लिन थाले । पीडितले आफ्ना आफन्तहरुको उद्दार गर्न अनुनय गरे ।
यसअघि पनि पटक-पटक म्यानपावरमा गएर उद्दारका लागि आग्रह गर्दा कुनै सुनवाई नभएको पीडितको भनाइ थियो । उल्टै विभिन्न धम्की दिइएको उनीहरुले बताएका छन् । अन्तरवार्तामा पीडितका परिवारले आफूले पैसा दिएका व्यक्तिको नाम पनि सार्वजनिक गरेका थिए ।
पीडितसँग कुराकानी भइसकेपछि यूट्युवरले कम्पनीका सञ्चालकसँग पनि अन्तरवार्ता गर्न खोजे । तर, सञ्चालक कार्यालयमा थिएनन् । पीडित र अभियन्ताले युटुवरलाई १० देखि १५ मिनेट कुर्न अनुरोध गरे । त्यसै अनुसार यूट्युवर पनि म्यानपावर कम्पनीको कार्यालयमै कुरेर बसिरहेका थिए । त्यसबेला केही व्यक्तिहरु पालैपालो आउँदै हेर्दै फर्किने गरेको यूट्युवरले बताएका छन् । शंका लागेपछि उनीहरु निस्केर हिँड्न खोजेका थिए । तर, सञ्चालक आउनै लागेको जानकारी पाएपछि रोकिए ।
त्यसपछि एक्कासी ८ देखि १० जनाको हुल उनीहरु बसेको ठाउँमा आयो । उनीहरुले युटुवरका क्यामेरा खोसेर तोडफोड गर्न थाले । त्यसपछि युट्युवर प्रकाश थापा र एक अभियन्ता भित्रबाटै लुकेर घरको छतमा पुगे । उनीहरु दुवै जना त्यहाँबाट हाम फालेर भाग्न सफल भए । उम्किन नसकेका अरु यूट्युवर र अभियन्ता तथा पीडितमाथि आक्रमण सुरु भयो । अभियन्ता, पीडित र यूट्युवर सबैमाथि रक्ताम्य हुने गरी कुटपिट भयो ।
एकैछिनपछि म्यानपावर कम्पनी रहेको घरका छिमेकीले प्रहरीलाई खबर गरे । तर, प्रहरी आउन ढिलाइ भयो । प्रहरी आइपुग्दा आक्रमणकारी भागिसकेका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरीले कुटिएकालाई मात्रै समातेको देखिन्छ । उनीहरुलाई तत्काल अस्पताल पुर्याइएको थियो । – नेपाल प्रेसबाट






