काठमाडौं । सेभियाले स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिडलाई पछ्याउँदै गएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाले गेटाफेलाई १–० गोलले हरायो । सेभियाको कठिन जितमा राफा मिर नायक बने ।
प्रतिस्पर्धात्मक खेलमा राफा मिरले २२औं मिनेटमा लुकास ओकम्पोसको पासमा गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो । ६६ प्रतिशत बल पोसेसन राखेको सेभिया पहिलो हाफमा गोल गरेपछि रक्षात्मक देखिएको थियो । घरेलु टोलीलाई दबाब दिएपनि गेटाफेको गोल फर्काउने प्रयास सफल भएन ।
निर्णायक गोल गरेका सेभियाका राफा मिर ‘म्यान अफ दी म्याच’ भए । जितसँगै सेभियाले २० खेलबाट ४४ अंक बनाएको छ । सेभियाले शीर्षटोली रियल म्याड्रिडसँगको दुरी पाँच अंकले घटाएको छ । रियलको २१ खेलबाट ४९ अंक छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३४ अंक छ । पराजित गेटाफे १८ अंकसहित १६औं स्थानमा छ ।
अर्को खेलमा एथ्लेटिको म्याड्रिड भिल्लारियलसँग २–२ गोलको बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको एथ्लेटिकोले सुरुवाती अग्रता लिएरपनि अंक बाँड्न बाध्य बन्यो । एथ्लेटिकोका लागि एन्जल कोर्रियाले १०औं र नियोफ्री कोन्डोगवियाले ६७औं मिनेटमा गोल गरे । भिल्लारियलका पाउ टोरेसले २९औं र अल्बर्टो मोरेनोले ५८औं मिनेटमा गोल गरेका थिए ।






