‘पिर्के सलामी’ लिएपछि विवादमा मन्त्री झाँक्री, भन्छिन्- ‘मैले मान्छे मारेको हो र’ ?

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीे गृहजिल्लामा लिएको ‘पिर्के सलामी’ले व्यापक चर्चा पाएको छ ।

यसअघि तत्कालीन नेकपा र एमाले विवादको क्रममा उनले विपक्षी नेताहरुले यसरी सलामी लिएकोमा आक्रोशित हुँदै प्रतिक्रिया दिने गरेकी थिइन् ।

यतिबेला उनले मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले लिएको सलामीको फोटोमा उनले गरेको कमेन्ट समेत भाइरल भएको छ ।

उनले आफूले नै विरोध गरेको पिर्के सलामी आफैले नै लिएपछि उनी विवादमा तानिएकी हुन् । उनले आफ्नो गृहजिल्ला गुल्मीको इलाका प्रहरी कार्यालय मदानेमा सलामी लिएकी थिइन् । उक्त तस्वीर पूर्काेटदह प्रहरीले सामाजिक सञ्जालमा राखेको थियो । त्यसपछि उनको विरोध हुँदै सामाजिक सञ्जाल नै रंगिएको देखिन्छ ।

रातो कपडाले बेरिएको पिर्कामा उभिएकी मन्त्री झाँक्रीलाई ५ जना प्रहरीले सलामी दिइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बहुसंख्यकले ‘पद नपाउञ्जेल मात्र रहेछ विरोध गर्ने’ भन्दै कमेन्ट गरेका छन् ।

पिर्के सलामी लिएको सन्दर्भ र आलोचनाका विषयमा प्रस्टीकरण दिदै उनले भनिन्, ‘सलामी नलिएर झण्डा, आर्मी, प्रहरी छाडेर हिँडौँ त ? म असान्दर्भिक हो र ? असान्दर्भिक व्यक्तिले लिएको त होइन ।’

त्यसपछि विगतमा हिजो ‘पिर्के सलामी’को विरोध गर्नुको के अर्थ के भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले मान्छे मारेको हो र ? मान्छेले माला लगाइदिन्छन्, खादा लगाइदिन्छन् । अभिनन्दन गर्छन् । मचाहिँ त्यो सबै छाडेर, सबै मानिसलाई बेखुशी बनाइदिएर हिँड्न सक्छु र ?’