‘नेताको घरमा खाना नखानू’

गगनशिला खड्का
गुल्मी ६ जेठ ।  भूकम्पका कारण क्षती भएका घरको जाँच गर्न गाउँ गएका प्राविधीकहरुलाई नेताको घरमा खाना नखान निर्देशन दिईएको छ । राजनीतिक दलका नेता कार्यकर्ताको घरमा खाना खाएकै आधारमा घरको क्षतीको विवरण प्रभावित हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले प्राविधीकहरुलाई उनीहरुको घरमा खाना नखान निर्देशन दिएका हुन् ।  ‘हामीलाई वास्तविक रीपोर्ट चाहिएको हो,’ गैरेले भने – ‘कतैबाट प्रभावित नभईकन जाँच गर्नु, खाना खर्च म व्यहोर्छु ।’
गुल्मीमा भूकम्पका कारण क्षती भएका घरहरुको वास्तविकता पत्ता लगाउनका लागि जिल्लामा प्राविधीकहरुको टोलि खटीईसकेको छ । प्राविधीकहरु घर घरमा पुगेपछि एउटा क्षतिको वास्तविक विवरण आउने र अर्को सर्वसाधरणलाई आफ्नो घरको अवस्थाको बारेमा जानकारी भएपछि घरभित्र बस्ने नवस्नेबारे ढुक्क हुने प्रमुख जिल्ला अधिकारी गैरेको भनाई छ । टोली गाउँमा खटेपछि २० दिन भित्रमा सम्पूण घरमा पुगि तथ्याङ्क आईसक्ने उनको भनाई छ ।
जिल्ला प्राविधीक कार्यालयको समन्वयमा जिल्लाका विभीन्न कार्यालयका प्राविधीकहरुलाई ८ टोली बनाई गाउँ पठाईएको हो । हरेक टोलीमा दुई जना प्राविधीकको दरले गएको टोलीलाई स्थानीय स्तरमा सम्बन्धित गाविसका सरकारी कार्यालयका कर्मचारी तथा शिक्षकहरुले सघाउने गरी व्यवस्था मिलाईएको छ । जिल्लाको मलायागिरी गाविसमा कुनै क्षती नभएको भन्ने जानकारी आएकोले  ७४ गाविस र एक नगरपालीकामा पुगी टोलीले सामान्य, आँसिक र पूर्ण क्षतीग्रस्त भनिएका सबै घर जाँच गरी विवरण ल्याउने छ ।
गाउँमा खटिएको टोलीले यो अवधिभित्र आफ्नो कार्यालयको काम पनि हेर्नेगरी प्राविधीकको सम्बन्धित साईट मिलाएर पठाईएको छ । त्यसबाट उनीहरुले आफ्नो नियमित कामतर्फको अनुगमन पनि गर्न पाउने र उनीहरुको दैनिक भ्रमणभत्ता तथा खानाखर्च कार्यालयबाटै दिने गरी व्यवस्था मिलाईएको छ ।
जिल्ला स्तरका राजनीतिक दल तथा जिल्ला दैविप्रकोप उद्धार समितिले गुल्मीमा निकै मेहनेतका साथ भुकम्पपिडीतका लागि राहत उपलब्ध गराउन पलह गरेपनि स्थानीय स्तरका राजनीतिक दलको संयन्त्रले तथ्याङ्क संकलनमा गडबडी गरेको भन्दै आलोचना भएको छ । गुल्मीमा पहिलो पटक प्रहरीले एकहजार भन्दा कम घर पूर्ण क्षती भएको तथ्याङ्क निकालेपनि गाउँ गाउँका राजनीतिक संयन्त्रले २ हजार २१ घर पूर्ण रुपमा क्षती भएको भन्ने तथ्याङ्क संकलन भएपछि गलत तथ्यांक भएको भन्दै आलोचना भएको छ ।  ‘हामीले यहाँ पिडीतहरु नछुटुन भनेर प्रयास गरीरहेका छाँै तर गाउँस्तरबाट तथ्याङ्क आउँदा राजनीतिक प्रभावको आधारमा गलत आएको छ ।’ – अखण्ड नेपाल पार्टीका अध्यक्ष नेत्र बस्नेतले मंगलबार जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकमा भने  ।
जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकमा सरोकारवालाहरले राहतको कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । भुकम्पका कारण तत्काल घरबारबिहीन बनेकालाई बसोबासको व्यवस्था गरीहाल्ने र दिर्घकालिन व्यवस्थाको लागि पहल जारी राख्ने उनीहरुको प्रतिवद्धता छ । ‘भुकम्पका नाममा हामीले मान्छेलाई गरीखाने बनाउँ, मागीखाने हैन भनेर लागि परेका छाँै ।’ नेकपा एमालेका सचिव सोमनाथ सापकोटाले भने ।
मंगलबार सम्पन्न  समितिको बैठकले राहत सामग्री र राहत रकम वितरण गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि स्थानीय राहत व्यवस्थापन उपसमितिको कार्यविधी निर्माण गरी जारी गरेको समितिका सदस्य सचिव स्थानीय विकास अधिकारी डिलाराम पन्थीले बताए  । जिल्लामा राहत संकलन तथा वितरणको कार्यलाई प्रभावकारी बनाउनका लागि कार्यविधी निर्माण गरीएको उनले बताए ।