काठमाडौँ, ६ जेठ ।
सुन्दै अचम्म लाग्ने एउटा रहस्यमय घटना मकवानपुरको फाखेल गाविसमा भएको छ । सो घटनाका कारण स्थानीय जनता ‘गाउँमा जतिबेला जे पनि हुनसक्ने’ भन्दै त्रासमा परेका छन् । अझ सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न पहल गर्नुपर्ने निकाय प्रहरी भने दोषी पत्ता लगाएर कारबाहीतर्फ लाग्नुपर्नेमा घटनालाई गुपचुप पार्नेतिर लागेको स्थानीयको गुनासो छ ।
रहस्यमय हत्या
गत बैशाख ४ गते फाखेल गाविस–२ सिरचौर बस्ने वर्ष ५५ का जोकर भनिने रोतबहादुर थिङको हत्या भयो । उनी सो दिन गाउँ नजिकै रहेको राकस खोलास्थित पसलमा सामान किन्न गएका थिए । सो दिन पानी समेत परेको थियो । रातिसम्म घर नफर्किएपछि परिवारले खोजी गरे । खोज्दा फेला पार्न नसकेपछि पानी परेकाले कतै सहारा लिएर बसेका होलान्, पानी पर्न छाडेपछि अवश्य घर फर्केलान् भन्ने आश परिवारलाई रहेको थियो । पछि खोजखबर गर्दै जाँदा रहस्यमय तरिकाले राकस खोलामा लास फेला पर्यो । तर, लासको प्रकृत्ति हेर्दा आफैं मरेको नभई अन्त कतै हत्या गरेर लास सो खोलामा ल्याएर फालेको प्रष्ट हुन्थ्यो । तस्बिरको प्रकृत्ति हेर्दा लडेर, छट्पटाएर र घिसारिएर मरेको जस्तो नदेखिने, लगाएका कपडाहरु सुकिला र जस्ताको तस्तै तथा टाउको खोलामा जोतिएको र खुट्टा खोलामाथि परेको देखिएको थियो ।
थिङले पाँच किलो मैदा पसलबाट ल्याएकोमा उक्त मैदा भएको झोला जस्ताको तस्तै र मैदा पनि पानीले नभिजेको अवस्थामा रहेको थियो । त्यति मात्र होइन, मैदाको झोलामा प्वाल पारेर पछि पिठो अलिअलि छरछार गरिएको देखिएको थियो । यस आधारमा पनि घटना रहस्यमय रहेको भन्दै उनको परिवारले इलाका प्रहरी कार्यालयमा छानविनका लागि किटानी जाहेरी दिएको छ । तर प्रहरी भने छानविन गर्नेतिर नभई रातारात सामसुम पार्ने ध्याउन्नामा लागेको बताइन्छ । मृतकका छोरा मंगल र श्रीमती कान्छीमायाले अनुसन्धान गरी कारबाही गर्न बैशाख ८ गते इलाका प्रहरी चौकीमा जाहेरी दर्खास्त दिएका थिए । दर्ता नम्बर १८० मा दर्ता गरिएको निवेदनलाई दर्ता गरेर थन्क्याउने मात्र काम गरिएको पीडितको आरोप छ ।
इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विश्वराजसिंह थापाले यसमा ध्यान दिनुको सट्टा घटना भवितव्य नै हो भनेर ३ घण्टाको बिचमा शव काठमाडौं पोष्टमार्टम गर्न पठाएर ल्याइवरी लास जलाउने अनुमति दिइसकेका छन् । यसमा प्रहरी पनि रकमका आधारमा प्रभावित भएको स्थानीयको आशंका छ ।
परिवारद्वारा ‘मारेकै दाबी’
मृतकको परिवारले भने थिङलाई मारेकै दाबी गरेका छन् । सोही दिन रातभर स्थानीय झिल्के तामाङको पसलमा तास खेलाइएको बताइएको छ । पहिलेदेखि नै केही व्यक्तिहरुले मृतक थिङलाई विभिन्न फोन नम्बरबाट ‘म फाखेल चौकीको प्रहरी बोलेको’ भन्दै विभिन्न धम्कीहरु दिने र ज्यानै लिने चेतावनी दिँदै आएको बताइन्छ । झिल्केको घरमा तास खेल्नेहरुमा दीपक वाइवा, चन्द्र घिसिङ, ठूलोकान्छा घिसिङ लगायत अन्य केही रहेको खुलेको छ । तर, प्रहरीले लासको मुचुल्कामात्र उठाएको तर अन्य कोही पनि व्यक्तिहरुसँग सोधपुछ नगर्नुले पनि घटना रहस्यमय बनेको र प्रहरीको गतिविधि झनै रहस्यमय रहेको स्थानीय व्यक्तिहरु बताउँछन् । प्रहरी पालुङबाट घटनास्थलमा आएको भन्ने थाहा पाउनासाथ स्थानीय झिल्के र उनका आफन्तहरुले प्रहरीलाई बिच बाटोमै भेटेको थाहा भएको छ । सो भेटपछि प्रहरीले घटनालाई गम्भीर रुपमा लिनुको साटो केवल औपचारिकतामा सीमित पारेको स्थानीय बताउँछन् । परिवारले रातभर तास खेल्ने र खेलाउने व्यक्तिहरुसँग सोधपुछ गरी अनुसन्धान गर्नुपर्नेमा त्यसो नगरेको बताइन्छ ।
धम्की दिने को-को ?
पीडितका अनुसार मृतकलाई नमारी छाड्दिन भनी बारम्बार धम्की दिने व्यक्तिहरुमा स्थानीय दारासिंह घोले र बहादुर सिंह हुन् । मृतकका परिवारले सो कुरा किटानी जाहेरीमा पनि उल्लेख गरेका छन् । उनीहरुको र मृतकको टेलिफोन नम्बरको कल डिटेल लिएर भ्वाइस रेकर्ड जाँचबुझ गर्दा पनि यस बारेमा थाहा हुने भए पनि प्रहरीले यसतर्फ ध्यान नदिएको बताइन्छ । पीडित परिवारले प्रहरीलाई दिएको जाहेरीमा पनि प्रहरीले ध्यान नदिनुले घटना रक्षक नै भक्षक भएर मिलेमतोमा गुपचुप पार्न लागिएको प्रष्ट हुन्छ ।
५ वर्षमा यस्ता दस हत्या
त्यसो त फाखेलको वडानम्बर १ र २ मा गरी यस्ता खाले रहस्यमय हत्या १२ पटक भइसकेको बताइन्छ । ३ वर्षअघि दोर्जे बलको बुहारी सेते बलको श्रीमती तथा देवबहादुर बलको आमा ५५ वर्षीया एक महिलाको यस्तै हत्या भएको थियो ।
घरको भर्याङबाट खसेको बहाना गरिएको घटनाबारे प्रहरीमा जाहेर नै गरिएन । तर स्थानीयहरु अंशको विवादमा परिवारबाटै घटना भएको अझै बताउँछन् । त्यस्तै मानबहादुर पाख्रिनको श्रीमती पदमबहादुर पाख्रिनको आमा ५० वर्षीय महिलाको पनि करिब ३ वर्षअघि रहस्यमय तरिकाले हत्या भएको बताइन्छ । गोठमा झुण्डिएर आत्महत्या गरेको भनिए पनि सो घटनामा पनि मारेर पछि पासो लगाइएको बताइन्छ । गाउँलेले विवादका बिच सो घटना सार्वजनिक नगरी गाउँमै मिलाएका थिए । त्
यस्तै फाखेल वडा नम्बर २ को सिकारी भनिने लालबहादुर पाख्रिनको बुहारी बाघसिंह पाख्रिनको श्रीमतीको पनि यस्तै तरिकाले रहस्यमय मृत्यु भएको थियो । ४० वर्षिया कान्छीबल पाख्रिनको राकस खोलास्थित आरुबखडाको रुखमा झुण्डिएर मरेको भनिए पनि घटनाको प्रकृत्ति त्यस्तो नरहेको बताइन्छ । यता गत माघमा मात्रै त्यस्तै रहस्यमय घटना भयो ।
पदमबहादुर गोलेको श्रीमती झिल्के गोलेको आमा माइती रुम्बाको पनि त्यस्तै तरिकाले मृत्यु भएको बताइन्छ । घरमै विवाद हुँदा छोराहरुले कुटेर सिकिस्त भएको भनिएकी उनको छिमेकीको घरमा गएर पानी मागेर खाँदै गर्दा बसेकै स्थानमा मरेको बताइन्छ । जुन घटनालाई पनि भवितव्य भनेर कुनै जाहेरी नगरी गाउँमै सामसुम पारिएको बताइन्छ ।
यस्तै डेढ वर्षअघि नक्कल बलको बुहारी र छोरीको पनि १ महिनाको अन्तरमा हत्या भएको बताइन्छ । प्रहरीले घटनाको अनुसन्धान नगरी आत्महत्या नै हो भने पनि त्यतिबेला गाउँले पत्याउन तयार थिएनन् । त्यस्तै गत फागुनमा ठूलोबाबु पाख्रिनकी श्रीमती घरकै कोठाभित्र झुण्डिएकी थिइन् । जिउभरि नीलडाम र शरीरभरी रगतपच्छे भएकी ति महिलालाई पनि आत्महत्या भनेर टारिएको बताइन्छ ।
त्यस्तै एकाघरको जेठाजु र बुहारी मिलेर आफ्नै लोग्ने मारेको निहुँमा छ महिनादेखि जेलको सजाय कटाइरहेको व्यक्ति पनि सोही गाउँमा छन् भने २ वर्षअघि बहादुर डिम्डुङको छोरा ६ वर्षको बालक पनि आत्महत्या गरेर मरेको भनिएको थियो । उसले लगाएको घाँटीको पासो पनि अर्कैतिर फर्किएकाले सो घटना पनि नियोजित भए पनि गाउँमै गुपचुप पारिएको बताइन्छ । यसअघिका घटना जस्तै रोतबहादुरको रहस्यमय मृत्युलाई पनि भवितव्य पार्ने प्रयास गरिएपछि गाउँले सशंकित भएका छन् । – बुधबार साप्ताहिकबाट ।






