काठमाडौं । बाक्लो कुहिरोका कारण प्रभावित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे चार घण्टापछि सुरु भएको छ ।
बिहान ११ बजेर २ मिनेटमा दोहाबाट आएको हिमालय एअरलाइन्सको विमान सुरुमा अवतरण गरेपछि विमानस्थल अहिले सूचारु भइरहेको छ ।
त्यसपछाडि विदेशबाटै आएका अरू पाँचवटा विमानले अवतरण गरेको एक अधिकारीले बताए ।
ती अधिकारीका अनुसार त्यसअघि विदेशबाट आएका कतिपय विमानहरू काठमाडौंको आकाशमा फन्को मारेका थिए भने कतिपय विमान मोडिएर भारततिर गएका थिए।
बिहान सवा ११ बजेबाट पहाडी क्षेत्रमा आन्तरिक उडानहरू पनि सुरु भएका छन् ।
यसअघि बिहान साढे ६ बजे विमानस्थल खुला भएयता कुनै पनि विमान उड्न वा अवतरण गर्न सकेको थिएन।
विमानस्थल अधिकारीहरूका अनुसार विदेशबाट नेपाल आएका जजीरा एअरवेज, कतार एअरवेज, हिमालय एअरलाइन्स, फ्लाई दुबई लगायतका विमानले घण्टौँ फन्को मारेका थिए।






