बेलायतले गर्यो आइसोलेशन नियममा परिमार्जन, अब सात दिन बसे हुने

लन्डन । बेलायतमा कोभिड लक्षित प्रतिबन्धात्मक कार्यक्रमअनुसार लागू गरिएको अनिवार्य आइसोलेशनको अवधि घटाइएको छ ।

सरकारले यसअघि १० दिनसम्म सेल्फ क्वारेन्टीनमा बस्नुपर्ने नियमलाई परिमार्जन गर्दै सात दिन मात्रै बसे पुग्ने नियम बनाएको हो । नयाँ नियम अनुसार छैटौं र सातौँ दिनमा परीक्षण गर्दा नेगेटिभ आएको खण्डमा सातौं दिनबाट स्वतन्त्र हुन सकिनेछ ।

तर, खोपको दुवै मात्रा नलगाएका र कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुले भने पूरा दश दिन नै ‘आइसोलेट’ हुनुपर्नेछ । स्वास्थ्य विज्ञको सल्लाह अनुसार क्वारेन्टाइन अवधि घटाइएको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । ओमिक्रोन संक्रमण तीव्र रुपमा बढेपछि विशेषगरि स्वास्थ्य तथा रेल क्षेत्रमा कर्मचारीहरुको अभाव हुन थालेपछि यो नयाँ नियम लागू गर्न लागिएको अधिकारीहरुले बताएका छन् ।

नयाँ नियम खोप लगाएकाहरुलाई पनि लागू हुनेछ । तर, कोभिडको लक्षण देखिएको छ भने आइसोलेसन नै बस्नुपर्ने बताइएको छ । आइसोलेसन मुक्त भएकाहरुलाई सिमित व्यक्तिबीच मात्र सम्पर्क गर्न सरकारले आग्रह गरेको छ ।

बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाखभन्दा बढी संक्रमित

बेलायतमा पछिल्लो समय कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका हुन् । यसअघि यहाँ एकै दिनमा ९६ हजारजना जतिमा यो भाइरसका सङ्क्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित संख्या हो ।

यहाँ पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिन जसो सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका छन् ।यहाँका अधिकारीहरुले प्रकोप शुरू भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् । यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । यसकारण यहाँका कतिपय कार्यक्रमहरुमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।

अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ । पछिल्ला हप्ताहरुमा सङ्क्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ ।