११ प्रहरी अधिकृतलाई जेल

काबुल, ५ जेठ । अफगानिस्तानको एक अदालतले फर्खुदा नामकी महिलालाई कुटपीट गरी मारेको घटनामा ११ जना प्रहरी अधिकृतलाई दोषी ठहर्‍याएको छ । फर्खुदालाई पिटिरहेको अवस्थामा उनलाई बचाउन कुनै प्रयास नगरेको भन्दै अदालतले उनीहरुलाई एक–एक वर्षको जेल सजाय सुनाएको हो ।
गत मार्च १९ मा राजधानी काबुलको मध्यभागमा २८ वर्षिया फर्खुदालाई कुरानको अपमान गरेको झुठो आरोप लगाउँदै पिटेर मारिएको थियो । घटनाका प्रत्यक्षदर्शीले भने फर्खुदाले कुरानको अपमान नगरेको बताएका थिए । अदालतले फर्खुदा हत्या मामिलामा चार जनालाई मृत्युदन्डको र आठ जनालाई १६ वर्षको जेल सजाय सुनाएको छ । फर्खुदाको हत्यापछि काबुलमा व्यापक विरोध प्रदर्शन भएको थियो ।