वीरगन्ज – सशस्त्र प्रहरीले बरामद गरेर बुझाएको चरेस नेपाल प्रहरीका जवानले तस्करलाई नै बिक्री गरेको खुलासा भएको छ । पर्साको पोखरियामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय लालबाबु सहनी र दीपक कार्कीले आठ केजी चरेस तस्करलाई बिक्री गरेका हुन् ।
सशस्त्र प्रहरीले वीरगन्जको आदर्शनगरबाट आइतबार राति पाँच केजी चरेससहित दुईजना तस्करलाई पक्राउ गरेपछि नेपाल प्रहरीका जवानले चरेस बेचेको खुलासा भएको हो । आइतबार राति ना २५ प ४५२० नम्बरको मोटरसाइकलमा चरेस लिएर भारत जाँदै गरेका रौतहटको झुनखनुवा ३ घर भएका भूतपूर्वप्रहरी अमरेन्द्र यादव र वीरगन्ज २ छपकैयाका शेष तमन्नालाई सशस्त्र प्रहरीले पक्रेको हो ।
उनीहरुले प्रहरी जवानद्वय सहनी र कार्कीसँग आफूहरुले चरेस खरिद गरेको बयान दिएपछि सदस्श प्रहरीले प्रहरी जवान सहनीलाई हिरासतमा लिएर आइतबार राति नै जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको हो, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।







