शिव भण्डारी
लण्डन । नेपाली वेलफेयर सोसाइटी यूकेको दोस्रो अधिवेशनले धनबहादुर सार्कीलाई नै दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको छ ।
संस्थाको स्थापनाकालदेखि नै कटिबद्ध भएर काम गरिरहेका कर्मठ व्यक्ति सार्कीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
नयाँ नेतृत्व चयन गर्न र भावी योजना तय गर्न संस्थाले ४ डिसेम्बर शनिवार क्रेन विथ एण्ड एसोसिएसन, द. क्रेन सेन्टर, हेएजमा बार्षिकोत्सब सम्पन्न गर्दै नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा तेजेन्द्र गुरुङ, महासचिव सम्सेर नेपाली, सचिव बुद्धि बहादुर रुचाल, कोषाध्यक्ष धबिन्द्र बौडेल, सहकोषाध्यक्ष किरण नेपाली तथा सदस्यहरुमा सन्जय नेपाली, आशादेवी रोका र इलिजा बसेल नेपाली चयन भएका छन् ।
उक्त अवसरमा सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले विशेष साँगीतिक नृत्य प्रस्तुत गरेको थियो । जसमा कलाकारहरु सेलिना साही, लिकोन गुरुङ, रितिका खरेल र प्रभा बिक सहभागि थिए ।

नयाँ कार्यसमिति चयन गर्न गोपाल रोक, उदि नेपाली र बुद्धि बहादुर नेपाली सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।प्रमुख निर्वाचन आयुक्त गोपाल रोकाले नयाँ कार्यसमितिलाई चयन भएको घोषणा गर्दै शपथ खुवाएका थिए ।
सोसाइटीले कोभिड महामारीको समयमा गरेको मानवीय सेवामूलक कामले नेपालमा मात्र नभएर बेलायतमा समेत चर्चा बटुलेको छ । कोभिड नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण आक्रान्त भएका परिवार, बर्षासँगैको बाढी पहिरोको कारण घरबास सम्पति, आफन्त गुमाएका परिवारहरुलाई राहत र उद्धारको काममा यस संस्थाले गरेको कामले चर्चा पाएको हो ।
नेपालका २१ जिल्लामा हजारौं नेपालीहरुलाई करोडौं मूल्य बराबरको खाद्य तथा आवास सामग्री वितरण गरेको यस संस्थाले ‘बाँचौं र बचाऔं अभियान’ सञ्चालन गरेको थियो । सोही अभियानको दौरानमा संस्था र यसका संयोजक सार्कीले बेलायत र नेपालमा रहेका नेपालीहरुको कल्याणको निम्ती काम गरेको थियो ।

दोस्रो अधिवेशनले पनि यस प्रकारका मानवीय कामहरुलाई थप तदारुकताका साथ लैजाने प्रण गरेको छ । दोस्रो टर्मको लागि अध्यक्ष भैसकेपछि लण्डन नेपाल न्यूजसँग कुरा गर्दै सार्कीले संस्थाको गति अझै बढ्ने बताए ।
‘हामीले संस्था स्थापना नै मानवीय सेवामूलक काम गर्नको निम्ती गरेको हो’, उनले भने, ‘हामी यस अभियानमा कहिँ कतैपनि विचल्लित नभई अघि बढ्नेछौं, संस्था अझै बलियो हुनेछ ।’
उनले अघिल्लो कार्यसमितिमा रहेर काम गर्दा साथ दिने सबैमा धन्यवाद व्यक्त गर्दै आगामी यात्रामा प्रत्यक्ष र परोक्ष रुपमा साथ पाउनेमा विश्वस्त रहेको समेत बताए ।

दोस्रो अधिवेशन सम्पन्न गर्नको लागि उपस्थित भइ सहयोग गर्ने कार्यसमिति, सल्लाहकार तथा संस्थाका सम्पूर्ण शुभचिन्तकहरुलाई उनले धन्यवाद दिए । नेपालको गोर्खामा जन्मिएका उनी पूर्व व्रिटिश सैनिक समेत हुन् । गोर्खाबाट बसाई सरी चितवनमा हुर्कने पढ्ने गरेका उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै स्थापित भएर हुलाक अर्थात पोष्ट अफिस समेत सञ्चालन गरिरहेका छन् ।

उनी एनआरएनएको यूकेको पूर्व कार्यसमिति सदस्य रहेर विभिन्न सामाजिक काममा संलग्न भएका छन् ।
संस्थाले हालसम्म गरेका सम्पूर्ण परोपकारी कामहरुबारे तयार पारिएको भिडियो रिपोर्ट हेर्नुहोस् ।
https://www.youtube.com/watch?v=9pfx5VFyfSc&fbclid=IwAR0mPLYqqEK1nB5L02aNQ7eSdIwvShqg-ZBXdfdX9_seFD4kQNKpj2yATWo






