लण्डन । कोरोनाभाइरसविरुद्ध लड्न बेलायत सरकारले थप ११४ मिलियन खोप खरिद गर्ने भएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले फाइजर र मोडर्ना भ्याक्सिनको ११४ मिलियन अर्थात ११ करोड ४० लाख डोज भ्याक्सिन खरिद गर्न अर्डर दिइएको जानकारी दिए ।
वर्तमान अवस्थामा विश्वव्यापी रुपमा कोभिडको खतरनाक भेरियन्ट भनिने ओमिक्रोन स्वरुप फैलिरहेको अवस्थामा सतर्क भइरहेको बेलायतले खोप कार्यलाई अझै तिव्रता दिने भएको हो ।
अब आउने २ बर्षको निम्ती पुग्ने गरी सो मात्रामा भ्याक्सिन किन्न लागिएको जोनसनले बताए ।
भविष्यमा देखा पर्न सक्ने अन्य भेरियन्टलाई मध्यनजर गर्दै खोप कार्यक्रम प्रभावकारी बनाउने भन्दै उनले नागरिकहरुलाई बुष्टर डोज समेत लगाउन भनेका छन् ।
हाल दुवै मात्रा लगाएका मानिसहरुलाई पनि मापदण्ड पुगेको खण्डमा बेलायतले बुष्टर डोज दिन लागेको छ । आफ्नो योग्यता पुगेको अवस्थामा अनिवार्य रुपमा बुष्टर डोज लगाएर सुरक्षित रहन उनले आग्रह गरेका छन् ।
ओमिक्रोन भेरियन्ट देखा पर्ने अवस्था भएपछि बेलायतले यतिबेला अन्तराष्ट्रिय नाकामा कडाई गर्न लागेको छ भने देशभित्र पनि सतर्कता अपनाएको छ ।






