विनर सर्कल मिडियाले सिड्नीमा भव्य रुपमा गर्यो महिला उद्यमशीलता वहस

तक्दीर अधिकारी
सिड्नी । विनर सर्कल मिडियाले महिला शसक्तीकरणको निम्ती सिड्नीमा एक विशेष बहसमूलक अन्तरक्रिर्या सम्पन्न गरेको छ ।

नोभेम्बर २७ शनिवार रेस्ट फंसन सेन्टरमा साँझ ७ बजेदेखि ११ बजे सम्म भएको कार्यक्रममा सिड्नीमा रहेर विभिन्न क्षेत्रमा  स्थापित हुन सफल भएका महिलाहरुलाई विशेष वक्ता बनाएर अन्य केही गर्न चाहने महिला तथा युवतीहरुलाई ऊर्जा प्रदान गर्ने उद्देश्यका साथ महिला सशक्तीकरण, उद्यमशीलताको विषयमा चर्चा परिचर्चासहित विभिन्न क्षेत्रबाट करिब ८० जना महिलाहरुको सहभागिता  रहेका  थियो ।

न्यू साउथ वेल्स राज्यमा लेवर पार्टीको तर्फबाट निर्वाचित सांसद लिन्डा भेल्टजको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता संस्थाका संस्थापक रोशन खतिवडाले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद् भेल्टजले समाजमा महिलाहरुको स्थान उँचो हुने क्रम बढ्दै गएको भन्दै अरु कसैमा आश्रित नभई महिलाहरु शसक्तताको बाटोमा हिड्नुपर्नेमा जोड दिइन् । पूर्ण आत्मविश्वासको साथ आफ्नो काममा अघि बढ्न सुझाव दिदै उनले यसप्रति न्यू साउथ वेल्स राज्य सरकारलाई पनि झकझकाउने उनको भनाई थियो ।

त्यस्तै महिला उद्यमी सुजता चालिसेले महिलाहरुले उद्यमशीलतामा अघि बढ्नुपर्ने भन्दै आफ्नो नाम र ब्रान्ड स्थापित गर्ने अभियानमा जुट्न आह्वान गरिन् ।त्यस्तै एनआरएनए अष्ट्रेलिया सचिव सन्ध्या शाहले एनआरएनएमा पनि महिला सहभागिताको अवस्था न्यून रहेको भन्दै धेरै समस्याहरु पार गर्दै महिला सहभागि बढ्दै गइरहेकोमा खुशी व्यक्त गरिन् । महिलाहरुको समग्र परिवेश सुधारमा सबै पक्षको साथ रहनुपर्ने भन्दै उनले महिला, युवा तथा विद्यार्थीको निम्ती एनआरएनएले काम गरिरहने जानकारी दिइन् ।

त्यस्तै अष्ट्रेलियामा पुष्प व्यवसायमा संलग्न उद्यमी नितु न्यौपाने अधिकारीले यस देशमा फूल व्यावसायको महत्वको बारेमा प्रकाश पार्दै यहाँको संस्कृति अनुसार फूलको प्रयोग हुने भएको कारण पुष्पखेतीमा संलग्न हुन सुझाव दिएकी थिइन् ।

त्यस्तै राजनीतिमा सक्रिय अन्जना बस्नेत कार्कीले महिलाहरु पनि सबै कुरामा सक्षम रहेको भन्दै अस्ट्रेलियाको राजनीतिक क्षेत्रमा पनि उनीहरुको सहभागिता बढ्दै गएको बताइन। काउन्सिलर पदको उम्मेदवार समेत रहेकी उनले महिला सक्षम रहेको संदेश दिन पनि आफू चुनाव लड्न लागेको बताइन।

अंकिता गुरुङले सहजीकरण गरेको  कार्यक्रममा मूख्य प्रायोजक  प्रिमो एजुकेशन रहेको थियो ।प्रिमो एजुकेशनका निर्देशक विनोद हमालले महिला उत्प्रेरणको विषयमा पहिले देखि नै आफुहरु ले सहयोग गर्दै आएको भन्दै यस प्रकारका कार्यक्रमहरुलाई भविष्यमा पनि सहयोग गर्ने बताए ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको अवस्थामा विनर सर्कलले उक्त कार्यक्रम गरेको हो । विभिन्न क्षेत्रमा आवद्ध रहेका महिलाहरुले गरेका भोगेका दुःख तथा संघर्षका कुराहरु नयाँ उद्यमीहरुलाई सुनाउने उद्देश्य पनि यस कार्यक्रममा राखिएको संस्थापक खतिवडाले बताए ।

उनले यस कार्यक्रमले यहाँ रहेका महिलाहरुमा व्यावसायिक दक्षताको विकासमा टेवा पुग्ने विश्वास लिइएको बताए ।सिड्नीमा सफल भएका महिलाहरु जस्तै व्यवसायी, विभिन्न संघसंस्थाहरुमा आवद्ध रहेका नेत्रीहरु, राजनीतिमा सक्रिय नेत्रीहरुलाई निम्ता गरेर ती महिलाहरुका कठीन संघर्षका कथाहरु अन्य महिलाहरुलाई सुन्ने र आफ्नो प्रगति पथमा अघि बढ्न सहज पुर्याउने गरी सो कार्यक्रम आयोजना गरिएको उनले बताए ।

यसअघि पनि संस्थाले पहिलो संस्करणमा यस्तै कार्यक्रम गरेको थियो । जसमा १५ जना महिलाहरु सहभागि थिए ।कार्यक्रममा निशुल्क प्रवेशको साथै खानाको व्यवस्था पनि थियो । विनर सर्कलले अष्ट्रेलियामा रहेर नेपाल र नेपालीहरुको कल्याणको निम्ती विभिन्न मानवीय तथा सामाजिक कामहरु गर्दै आएको छ ।