सिड्नी । कोभिड महामारीले भयाभह रुप धारणा गरेसँगै बन्द गरिएको अन्तराष्ट्रिय सीमा नाका खोल्ने निर्णय कार्यान्वन हुन नपाउँदै अष्ट्रेलिया सरकारले सीमा बन्द गरेको छ ।
विश्वमा कोभिडको नयाँ प्रजाति ओमिक्रोन फैलिन शुरू गरेसँगै सतर्क रहेको अष्ट्रेलियाले बोर्डर खोल्ने निर्णयलाई १४ दिन पर सारेको हो ।
डिसेम्बर एकबाट मानिसहरुलाई अष्ट्रेलिया आउन दिने भनिएको थियो । तर अष्ट्रेलियाको सिड्नीमा आएका यात्रुहरुमा ओमिक्रोन देखिएको र यो भाइरस अत्यन्तै संक्रामक भएको कारण बोर्डर बन्द गर्नु परेको प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् ।
प्रधानमन्त्री मरिसनले ओमिक्रनको फैलावटसँगै यो आवश्यक भएको बताउँदै जटिल निर्णय लिएको बताए ।
उक्त भेरियन्ट दक्षिण अफ्रिकामा भेटिएको थियो, जुन अहिले विश्वभर फैलिने क्रममा रहेको छ ।
हालसम्म यूके, ईयू, अमेरिका लगायतका देशहरुले साउथ अफ्रिकासँग नाका बन्द गरेका छन् भने अन्य देशहरुले पनि गर्ने क्रम रहेका छ ।
यसअघि अष्ट्रेलिया सरकारले साउथ अफ्रिकासँगको उडान बन्द गर्ने र मानिसहरुलाई क्वारेन्टीन बसाउने निर्णय गरेको थियो । तर त्यस निर्णय आएको केही समयमै बोर्डर खोल्ने समयावधिलाई परिवर्तन गरिएको हो ।
अन्य परिस्थिती यथावत रहेको अवस्थामा अब दुई हप्तापछि मात्रै नाका खुल्नेछ ।
जापान सरकारले सबै विदेशीहरुलाई आउन रोक्ने निर्णय गरिसकेको छ । डब्लु एच ओ ले पनि यो भेरियन्ट निकै खतरनाक रहेको बताएको छ ।
अष्ट्रेलियामा हालसम्म पाँचजनामा यस प्रजातिको भाइरस देखिएको छ ।
नोभेम्बरमा सरकारले आवतजावत खुकूलो बनाएको थियो । भ्याक्सिन लगाएका मानिसहरुलाई आउन दिने भनिएपनि अव केही समय उक्त कार्यक्रम स्थगन हुने भएको हो ।
अहिले पूर्ण खोप लगाएका न्यूसजल्याण्ड र सिँगापूरका मानिसहरु मात्रै आउन पाउनेछन् ।






