अष्ट्रेलियाले खोल्यो अन्तराष्ट्रिय सीमाः १ डिसेम्बरबाट अष्ट्रेलिया आउन पाइने

सिड्नी । कोभिड महामारी व्यापक बन्दै गएसँगै २०२०मा अष्ट्रेलियाले बन्द गरेको अन्तराष्ट्रिय नाका खुला भएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाएका र मापदण्ड पूरा गरेका मानिसहरुले अब अष्ट्रेलिया आवत जावत गर्न पाउने घोषणा गरे । प्रधानमन्त्री मरिसनले आज पत्रकार सम्मेलन गर्दै डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई प्रवेश अनुमति दिइने बताउँदै पूर्णमात्रा खोप लगाएका र दक्ष कामदारसहितका विद्यार्थीले प्रवेश पाउने जानकारी दिए ।

अष्ट्रेलियाले पहिले देखिनै आफ्नो देशका ८० प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएपछि नाका खोल्ने भनेको थियो । नभन्दै ८५ प्रतिशत जनसंख्याले खोपको पूरा मात्रा लगाएसँगै अब अन्तराष्ट्रिय जगतले अष्ट्रेलिया प्रवेश पाउने भएको हो ।

यससँगै करिब २ लाख भिसावाहक विदेशी तत्कालै अष्ट्रेलियामा भित्रिने अपेक्षा गरिएको छ । अष्ट्रेलिया जाने विद्यार्थीले क्वारेन्टिन बस्नुपर्छ वा पर्दैन भन्ने निर्णय चाहिँ सम्बन्धित राज्य सरकारले गर्ने भएका छन् ।

न्यू साउथ वेल्स र भिक्टोरियाले पूर्ण मात्रा खोप लगाइसकेका विद्यार्थीले क्वारेन्टिन बस्नु नपर्ने निर्णय गरिसकेका छन् । विद्यार्थीले ३ दिनभित्रको कोभिड नेगेटिभ प्रमाणपत्र पनि पेश गर्नुपर्ने भएको छ ।

अष्ट्रेलियाको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार विभिन्न २८ वटा शीर्षकका भिसाबाहक विदेशी नागरिकले प्रवेश पाउनेछन् जसमा दक्ष कामदार, शरणार्थी, वर्किङ होलिडे, मानवीय लगायतका शीर्षक छन् ।

डिसेम्बर १ देखि अष्ट्रेलियाले विदेशीलाई अनुमति दिने भएपछि अब ठूलो संख्यामा नेपाली विद्यार्थी जाने अनुमान गरिएको छ । सयौं नेपाली विद्यार्थी भिसा लिएर बसिरहेका छन् । तर, सरकारले तोकेको मापदण्ड चाहिँ उनीहरुले पुरा गर्नुपर्ने हुन्छ ।

अब एक गतेबाट पर्यटकहरू, ब्याकप्याकरहरू, दक्ष आप्रवासीहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरू आउन पाउने भएका छन् । दुवै मात्रा खोप लगाएका जापानी र कोरियाली नागरिकहरूले पनि क्वारेन्टाइन बिना नै सोही मितिबाट अष्ट्रेलिया भ्रमण गर्न सक्नेछन् ।

शुरूमा पहिले नै भिजा लागेर बसेका मानिसहरु यहाँ आउन पाउनेछन् । त्यसपछि अन्य मानिसहरुले पनि आउन पाउने भएका छन् । यससँगै करिब २० महिनादेखि डलरमा फि तिरेर बसेका नेपाली विद्यार्थीहरुको अन्योल पनि हटेको छ ।

फाइजर, अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, मोडर्नासहित भारतीय तथा चिनियाँ खोपको पूर्ण मात्रा लगाएका मानिसहरु यहाँ आउन पाउने भएका हुन् ।