अमेरिकी सहायक विदेशमन्त्रीले प्रधानमन्त्रीलाई भेटे, आज परराष्ट्रमन्त्री खड्कासँग भेट्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट्दैछन्।

उनीहरूबीच एमसीसी सम्झौता, दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल हुनेछ। सहायक विदेशमन्त्री लु र परराष्ट्रमन्त्री खड्काबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता हुनेछ।

लुले बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा दुई देशबीचको पारस्पारिक सम्बन्ध, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो।

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र विकास साझेदारहरूसँग परिचित हुन लु तीन दिने भ्रमणका लागि बुधबार बेलुका नेपाल आइपुगेका हुन्।

काठमाडौं बसाइँका क्रममा उनले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी दूतावासले जनाएको छ।

साथै, नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन पनि गर्नेछन्।