छठपर्वमा धपक्कै बल्यो सिड्नी, नेपालीहरुले यसरी मनाए पर्व तस्वीरमा हेर्नुहोस्

तक्दीर अधिकारी
सिड्नी । सिड्नीमा एसोसियसन अफ तराई – नेपाल इन अष्ट्रेलिया (एएनटिए)को आयोजनामा नेपाली समुदायले यस बर्षको छठ पर्व धुमधामसँग मनाएका छन् ।

एन्जलपार्कको चिप्पिङ नर्टनमा छठी माताको धुमधामसँग पूजाआजा गरी विधि पूर्वक छठ पर्व मनाइएको हो । बुधबार साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ  दिइएको थियो भने विहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ पर्व सम्पन्न भयो ।

बुधबार साँझ ५ बजेदेखि ८ बजेसम्म भएको अस्ताउँदो सूर्यलाई अर्घ दिने समारोहमा करिब तीन सय नेपालीहरु उपस्थित रहेको एन्टाका अध्यक्ष सुभांश शाहले जानकारी दिए । त्यस्तै विहिबार विहान करिब एक सय मानिसहरु उपस्थित थिए ।

एएनटिएले सिड्नीमा आफ्नो स्थापना काल देखि नै नियमित रुपमा छठ पर्व मनाउँदै आएको शाहले जानकारी दिए ।

उनका अनुसार यस बर्षको कार्यक्रममा भएको भव्य उपस्थितीले उल्लास छाएको बताए । उनले भने, ‘सुरुका दिनमा २०–२५ जना छठ पूजामा सहभागी हुन्थे, घर परिवार मिलेर छठ मनाइन्थ्यो, तर अहिले यसको विस्तार भएको छ, खुशी लागेको छ ।’

यस पर्वलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्न पनि उक्त समारोहले सहयोग पुगेको अध्यक्ष शाहको विश्वास छ । कार्यक्रममा न्यू साउथ वेल्सका लागि नेपाली महावाणिन्ज्य दूत दिपक खड्का, एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङ, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स संयोजक देव गुरुङ, तामाङ समाजका संस्थापक गणेश तामाङ लगायतका विभिन्न संघसंस्थाका पदाधिकारीहरुले सम्बोधन गर्दै शुभकामना साटासाट समेत गरे ।

कार्यक्रम सफल पार्न उपाध्यक्ष एमडी जुम्मद्धिन हवारी, न्यू साउथ वेल्स राज्य संयोजक राकेश कुमार शाह, महासचिव कन्चन ठाकुर, कोषाध्यक्ष विकास कुमार झा, पव्लिक अफिसर अशोक यादव, सदस्यहरु विकाश कुमार सिंह, पंकज शाह, जितेन्द्र शाह, नविन यादव लगायतले बिशेष भूमिका खेलेका थिए ।

स्वदेशमा नरहेतामा पनि प्रवासमा रहँदा पनि जन्मभूमि रहेको आभास दिलाउने गरी कार्यक्रम सम्पन्न भएको भन्दै सहभागिहरु खुशी भएका थिए । सूर्यलाई अर्घ्य दिएपछि प्रसाद वितरण गरी खुशीयाली साटासाट गरिएको थियो ।

नेपालमा पहिले सहर गाउँका मुख्य मुख्य पोखरी, तलाउ, नदीमा मात्र मनाइने छठ पूजा यसपालि टोलटोल गाउँगाउँका हरेक पोखरी तलाउ नदीमा पनि मनाइएको छ । छठ पर्वमा बालबालिकादेखि जेष्ठ नागरिकसम्म सहभागी हुने गरेका छन् ।

मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व अन्य क्षेत्रका बासिन्दाले पनि मनाउने क्रम बढ्दो छ । दिनानुदिन छठमाई प्रतिको आस्था बढदै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

हेरौं उपलब्ध गराइएका थप तस्वीरहरु