लण्डन । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहीबार बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो ।
छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना,तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।
पहिले सहर गाउँका मुख्य मुख्य पोखरी, तलाउ, नदीमा मात्र मनाइने छठ पूजा यसपालि टोलटोल गाउँगाउँका हरेक पोखरी तलाउ नदीमा पनि मनाइएको छ ।
छठ पर्वमा बालबालिकादेखि जेष्ठ नागरिकसम्म सहभागी हुने गरेको सन्ध्या देवले बताइन् ।
मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व अन्य क्षेत्रका बासिन्दाले पनि मनाउने क्रम बढ्दो छ । दिनानुदिन छठमाई प्रतिको आस्था बढदै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।
बेलायतमा देखिएन रौनक – यस बर्ष भने बेलायतमा कोभिड महामारीको कारण छठपर्वको रौनक नदेखिएको नेपालीहरुले बताएका छन् । एसोसिएसन अफ नेप्लिज मधेशी इन द यूकेले हरेक बर्ष छठ पर्व विशेष कार्यक्रम नै गरेर मनाउने भएपनि यस बर्ष भने त्यसप्रकारको कार्यक्रम नभएको अध्यक्ष भाग्यनारायण रायले बताए ।
अध्यक्ष राय यतिबेला स्वदेश नेपाल भ्रमणमा रहेको कारण नेपालतिरै छठ मनाएको लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।






