बेलायतमा गोर्खा मोर्गेजेजले पायो प्रतिष्ठित अवार्ड

लन्डन । बेलायतमा नेपाली युवा व्यवसायीहरुद्वारा सञ्चालित गोर्खा मोर्गेजेजले बेलायतको फाइनान्सियल वृत्तमा प्रतिष्ठित एक अवार्ड जितेको छ ।

बेलायतभरका विभिन्न फाइनान्सियल कम्पनीहरुको नेटवर्क ‘होम लोन पार्टनरसिप’ले बेलायती कम्पनी ‘माइकल अशर’ सँगको साझेदारीमा सञ्चालन हुँदै आएको गोर्खा मोर्गेजेजलाई वित्त क्षेत्रकै प्रतिष्ठित ‘एचएल पार्टनरसिप अवार्ड २०२१’ अवार्डले सम्मान गरेको हो ।

हरेक बर्ष प्रदान गरिने यो अवार्डअन्तर्गत साउथ इष्ट इंग्ल्यान्डको ‘बेस्ट एड्भाइजर फर्म’ को रुपमा गोर्खा मोर्गेजेज पुरस्कृत भएको हो ।

वेल्सको सेल्टिक म्यानर होटेलमा आयोजित अवार्ड वितरण समारोहमा गोर्खा मोर्गेजेजका सिनियर मोर्गेज एन्ड प्रोटेक्सन एड्भाइजर सारस गुरुङ र मोर्गेज एन्ड प्रोटेक्सन एड्भाइजर सुजित गुरुङलाई यो अवार्ड प्रदान गरिएको थियो ।

कम्पनीले गरेको राम्रो प्रदर्शनको आधारमा उक्त अवार्ड पाउन सफल भएको कम्पनीका बिजनेस एन्ड डिभेलपमेन्ट म्यानेजर दिपेश राईले बताए ।

राईले इमान्दारिता साथ रियलस्टेटको क्षेत्रमा काम गरिरहेको भन्दै यस अवार्डले अझै लगनशील भएर ग्राहकको सेवामा कर्म गर्न प्रोत्साहन मिलेको लण्डन नेपाल न्यूजलाई बताए ।

उनले यसअघि सन् २०१८ र १९ मा पनि सोही अवार्डले कम्पनी सम्मानित भएको भन्दै यसपटक गरी तीन पटकसम्म अवार्ड पाउन सफल भएको बताए । गत वर्ष कोभिड महामारीका कारण अवार्ड बांडिएको थिएन ।

होम लोन पार्टनरसिप’ले ‘एचएल पार्टनरसिप’ को नेटवर्कमा आबद्ध बेलायतभरका सयौं फाइनान्सियल कम्पनीहरुमध्ये नेपालीहरुको कम्पनीलाई सम्मान गरेको हो ।

यसरी सम्मान गर्न कम्पनीले गरेको सेवा, बार्षिक कारोबार, ग्राहकहरुको सन्तुष्टि, उनीहरुले दिएको रेटिङ्ग आदिलाई मूल्यांकन गर्ने गरेको छ ।

गोर्खा मोर्गेजेजमा मोर्गेज एन्ड प्रोटेक्सन एडभाइजरहरु सारस गुरुङ, विभा गुरुङ र साजित गुरुङ, प्रोटेक्सन एड्भाइजर सञ्जय गुरुङ, बिजनेस एन्ड डिभलेपमेन्ट म्यानेजर दिपेश राई, प्यारा प्लानर सीमा राईलगायतले खटिएर सेवा दिदै आएका छन् ।

मोर्गेज, रियल स्टेट, वील्स, प्रोटेक्सन लगायतका सेवा दिने यस कम्पनी दशकदेखि बेलायतमा सञ्चालनमा रहेको छ ।

माइकल अशर मोर्गेजेज सर्भिसेसको ‘सब्सिडेरी’ शाखाका रुपमा गोर्खा मोर्गेजेजले फिर्मली, बेजिङस्टोक र आसफोर्डमा तीन शाखा समेत चलाइरहेको छ ।