एनआरएनए निर्वाचन : बद्रीको टिमका उपाध्यक्ष र कोषाध्यक्षका उम्मेद्वार कुल आचार्यको टिममा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको आसन्न निर्वाचनमा उम्मेद्वारी दिएका डा. बद्री केसीको टिमका दुई नेता अर्का उम्मेद्वार कुल आचार्यको टिममा सामेल भएका छन् ।

डा. केसीको टिममा रहेका दुई प्रभावशाली उम्मेदवारहरुले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छोड्दै आचार्य टिममा सामेल हुने निर्णय गरेका हुन् । केसीको टिमबाट उपाध्यक्षको उम्मेदवार तय गरिएका महेश श्रेष्ठ (जापान) र लोक दाहाल (बेल्जियम)ले आचार्यको टिममा गएका हुन् ।

श्रेष्ठ वर्तमान आइसीसी कार्य समितिका कोषाध्यक्ष हुन् भने दाहाल सहकोषाध्यक्ष हुन्। केसीले पाँच दिनअघि सार्वजनिक गरेको आफू पक्षीय उम्मेदवारहरुको सूचीमा श्रेष्ठ र दाहालको नाम र तस्वीर समावेश गरेका थिए ।

केसीको साथ छाडेर आचार्यको टिममा समावेश भएका श्रेष्ठ र दाहालले अब आचार्य नेतृत्वको टिमबाट उम्मेदवारी दिनेछन्। श्रेष्ठले आइसीसी उपाध्यक्षमा र दाहालले कोषाध्यक्षमा उम्मेदवारी दिने छन्।

उनीहरुले आचार्यले अघि सारेका एजेण्डामा सहमति भएकै कारण उनको टिममा सामेल भएको बताएका छन् । आचार्यले भावना र एजेण्डा मिल्नेहरुका बीचमा सहकार्य गर्ने र अन्य व्यक्तिहरुलाई पनि स्वागत गर्न तयार रहने बताए ।

संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा सल्लाहकार तथा पूर्व उपाध्यक्ष आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् भने वर्तमान उपाध्यक्ष बद्री केसीले आजै उम्मेदवारी घोषणा गर्दैछन् ।
यसअघि रबिना थापाले पनि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरिसकेकी छन् ।

एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ।