नेकपाको आमड्तालः काठमाडौँमा मात्र १५० भन्दा बढी पक्राउ

काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहले घोषणा गरेको आमहड्ताल साँझ ५ बजेपछि फिर्ता हुने भएको छ । संसदीय सुनुवाइ बिना नै विभिन्न संवैधानिक आयोगमहरुमा ३२ जना पदाधिकारी हिजो नियुक्त गरेपछि थप ओक्रोशित भएको प्रचण्ड–माधव पक्षले आज एक दिने आमहड्ताल घोषणा गरेको हो ।

साँझ ५ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने नेता विष्णु रिजालले जानकारी दिए ।

जारी आमहड्तालका क्रममा अहिलेसम्म विभिन्न ठाउँमा सवारीसाधन तोडफोड भएका छन् भने नेता कार्यकर्ताहरु पक्राउ परिहेका छन् । काठमाडौं उपत्यकाबाट मात्रै १५० नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा, विजय पौडेल लगायत १ सय ५० बढी नेता–कार्यकर्ता पक्राउ परेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिएको छ ।

यसैगरी, उपत्यका बाहिर पनि बन्दको प्रभाव देखिएको छ । प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीका अनुसार लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि छोटो दूरीमा यातायात आवगमनमा बाधा छैन ।
प्रदेश नं. २ मा सवारीसाधनहरु अत्यन्त न्यून चलेका छन् । प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताहरु मुख्य राजमार्गमा बसेर सवारी सञ्चालनमा अवरोध गरिरहेका छन् । आमहड्तालमा अवरोध गरेको भन्दै प्रहरीले प्रदेश एकबाट १७ जनालाई नियन्त्रणमा लिएको छ ।

जनकपुरधाममा बजार बन्द गराउन हिँडेका नेता कार्यकर्ता र प्रहरीबीच झडप पनि भएको छ । प्रहरीसँगको झडपमा नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन् ।

जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन् । नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक दर्जन राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

गण्डकी प्रदेशको पोखरामा प्रचण्ड माधव समूहले महेन्द्रपुलमा प्रदर्शन गरिरहेको छ । त्यहाँ कोही पनि पक्राउ परेका छैनन् । लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी विक्रम चन्दले बताए ।

कर्णालीमा प्रदेश प्रहरी कार्यालयका अनुसार राजमार्गमा सवारीसाधन चलेका छैनन् । प्रचण्ड–माधव समूहका नेता कार्यकर्ता बन्द गराउनु प¥यो भन्दै हिँडेका छन् भने ओली समूहका नेता, कार्यकर्ताहरु खुला गर्न माग गरिरहेका छन् ।

सुदूरपश्चिमका जिल्लाहरुमा सदरमुकाम र प्रमुख राजमार्गमा बन्दको प्रभाव देखिएको छ ।