के माओवादीले आज सरकार छाड्दैछ ? यस्तो छ तयारी

Nepal's newly elected Prime Minister Sher Bahadur Deuba (L), next to outgoing Prime Minister Pushpa Kamal Dahal also known as Prachanda (R), waves towards media personnel after being elected for the Prime Minister as they walk out from the Parliament in Kathmandu, Nepal June 6, 2017. REUTERS/Navesh Chitrakar

काठमाडौं– सत्तारुढ माओवादी केन्द्र आज सरकारबाट बाहिरिने सम्भावना छ । यस विषयमा औपचारिक निर्णयका लागि प्रचण्डले बामगठबन्धनका नेताहरुसँग परामर्श शुरु गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारबाट बाहिरिन दवाव दिएपछि माओवादीले सरकारबाट बाहिरने मनस्थिति बनाएको हो । प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग यस विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज नै सरकार छाड्न दवाव दिएपछि प्रचण्डले परामर्श थालेका हुन् । स्रोतका अनुसार माओवादी सरकार छाड्ने तयारीमा छ ।
माओवादीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले आज पत्रकार सम्मेलन बोलाएका छन् । माओवादीका तर्फबाट सरकारमा नेतृत्व गरेको उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाएका छन् । त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्माले पनि दिउँसो २ बजे नै पत्रकार सम्मेलन बोलाएका छन् ।

एकै दिन माओवादीका दुई मन्त्रीको पत्रकार सम्मेलनलाई चासोका साथ हेरिएको छ, जहाँ मन्त्रीहरुले सरकारबाट बाहिरिएको विषयमा विफ्रिङ गर्ने छन् ।
यसअघि माओवादीले चुनावसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय गरेको थियो । तर, पछिल्लो पटक प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापासहित आठ मन्त्री थपेपछि माओवादी मन्त्रीमाथि नैतिक दवाव शुरु भएको थियो ।

नयाँ मन्त्री सपथ लिएको तीन दिनसम्म पनि विनाविभागीय छन् । प्रधानमन्त्रीले माओवादीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरु हटेपछि उनीहरुलाई विभाग तोक्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतको भनाई छ ।