पोर्चुगलमा फेरी ठगिए नेपालीहरु, घर फर्किन एयरपोर्ट पुग्दा टिकट नक्कली रहेको खुलासा

लिस्बल । पोर्चुगलमा नेपालीहरु फेरी पनि ठगिन पुगेका छन् ।

परदेश भूमीमा मिहेनत गर्न पुगेका नेपालीहरुलाई त्यहा रहेका आफ्नै देशका मानिसहरुले ठग्ने क्रम रोकिन नसकेको हो । उनीहरुलाई धम्की दिने, ठग्ने, लुट्ने र कुट्ने घटनाको शिलशिलामा यतिबेला फेरी हवाई भाडामा उनीहरु ठगिएका हुन् ।

दशैँ मनाउन लिस्बन – काठमाडौँका लागि हवाई टिकेट काटेका ५ जना नेपालीहरुलाई नक्कली टिकट दिएर ठगेको पाइएको हो । घर फिर्ता हुने आशमा खुशी भएर विमानस्थल पुगेका एक महिला र चार पुरुषहरु एयरलाइन्सको काउन्टरमा पुग्दा नक्कली टिकेट भन्दै फर्काइएपछि मात्रै आफुहरु ठगिएको थाहा पाएका थिए।

केही महिना अगाडी मात्रै दुई सयभन्दा बढी नेपालीहरुलाई नक्कली हवाई टिकेट दिएर अलपत्र पार्दै २ करोडभन्दा बढी ठगी गरेर फरार भएका तत्कालिन एनआरएनए कोषाध्यक्ष बिक्रमजंग कुँवरद्वारा संचालित लक्ष्मी ट्राभल्सका पूर्व कर्मचारी समेत रहेका रेमिट डेस्टिनेशनका संचालक रबिन उप्रेतीले ती नेपालीहरुलाई ठगेका हुन् ।

यतिबेला एनआरएनए पोर्चुगलका दुई समानान्तर समितिमध्येको सोमफुरी शेर्पाको टोली नक्कली टिकेट बिक्री गर्ने रेमिट डेस्टिनेशनका संचालकलाई संगै लगेर एयरपोर्टमा अलपत्र परेका नेपालीको उद्धार गर्न गएको बताइएको छ । उनीहरुसँगै पत्रकारहरु त्यहा पुगेका छन् ।

नेपालीहरु ठगिने क्रम बढ्दै गएपनि यहाँ रहेको एनआरएनए तथा अन्य नेपाली अभियन्ताहरुले सचेत भएर टिकट लिन र विश्वसनीय ठाँउबाट मात्रै टिकट लिन आग्रह गरेका छन् ।